Techie IT
Mission Khabar

कोरोना संक्रमितको संख्या ४९ पुग्दा नेपालका १२ जिल्ला रेड जोनमा, प्रदेश १ सबैभन्दा बढी प्रभावित


काठमाडौं । विश्वब्यापी स्वास्थ्य समस्या निम्त्याईरहेको कोरोनाको संक्रमण नेपालमा समेत बढ्दो क्रममा छ । बिश्वका २ सय १० देशमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा तीन महिना अघि अर्थात माग १० गतेबाट भित्रिएको थियो । बिदेशबाट आएका व्यक्तिमा सबैभन्दा बढी संक्रमण देखिएको नेपालका १२ जिल्ला कोरोनाबाट प्रभावित भएका छन् । तीन महिनाको अवधिमा यी जिल्लाका ४९ जनामा कोरोना संक्रमण पहिचान भएको छ । जसमध्ये १२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

संक्रमितमध्ये केही भारतीय नागरिक छन् भने केही विदेशबाट फर्किएका नेपाली छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जनामा स्थानीय संक्रमण देखिएको भनेपनि उदयपुरको भुल्के क्षेत्रमा बिदेशबाट आएका व्यक्तिबाटै समुदायस्तरमा कोरोना सरेको आशंका सहित थप अध्ययन भैरहेको छ । अहिलेसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा तीन, धादिङमा एक, कैलालीमा चार, उदयपुरमा २८, बागलुङमा चार, चितवनमा दुई, सर्लाहीमा एक, भोजपुरमा एक जना संक्रमित पहिचान भएका छन । यस्तै, रौतहटमा एक, पर्सामा तीन, कञ्चनपुरमा एक र झापामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर जिल्लामा पहिचान भएका छन् । प्रदेशगत हिसाबले प्रदेश १ को उदयपुर, भोजपुर र झापा, प्रदेश २ को सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशको काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा कोरोनाको प्रभाव बढी देखिएको छ । चिकित्सकले प्रभावित जिल्लामा परीक्षणको दायरा बढाउन सुझाव दिएका छन् । प्रभावितहरू अधिकांश भारतबाट नेपाल भित्रिएका र विदेशबाट नेपाल आएका नागरिक रहेको पाइएको छ । प्रभावित जिल्लाका नागरिकलाई लकडाउनको पूर्ण पालना गर्न सरकारले आग्रह गरेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित पहिचान भएको प्रदेश १ को विराटनगरस्थित कोसी अस्पतालको कोरोना बिशेष अस्पतालमा अहिले २८ जनाको उपचार भइरहेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी र अछाम, गण्डकी प्रदेशका बागलुङ, कर्णाली प्रदेशको जुम्ला जिल्ला संक्रमणका हिसाबले जोखिमपूर्ण रहेको निस्कर्ष निकालेर सावधानि अपनाएपनि कर्णाली र प्रदेश ५ मा संक्रमण शून्य छ । देशका विभिन्न स्थानका २ सय ८७ जना रेड जोन अन्तर्गत निगरानीमा राखिएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्