Techie IT
Mission Khabar

प्रदेश एकका विभिन्न जिल्लामा आरडीटी किट अभाव, पीसीआर ल्याबमा समेत केही सामाग्री सकिदै


काठमाडौं\विराटनगर । प्रदेश नम्बर १ मा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिने परीक्षण किटको अभाव देखिएको छ । प्रदेश एकका विभिन्न जिल्ला समन्वय समितिका प्रमुखहरुले सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग भिडियो संवाद मार्फत कोरोना परीक्षणको आरडीटीको दायरा बढाउन परीक्षण किट अभाव भएको जानकारी गराएका हुन् ।

भिडियो संवादका क्रममा उनीहरुले मन्त्रालयसँग आरडिटी किटको सहज उपलब्धताको माग गरेका थिए । इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले क्वारेन्टाइनमा रहेका सर्वसाधारणको कोभिड परीक्षण किट अभावले हुन नसकेको बताए । अझ उनले इलाममा स्वास्थ्यकर्मी र औषधिको समेत अभाव भएको भन्दै आवश्यक व्यवस्थापनको माग गरेका थिए । झापाका प्रमुख सोमनाथ पोर्तेलले भारत लगायत तेस्रो मुलुकबाट ९ सय सर्वसाधारण प्रवेश गरेको भएपनि किट अभावले सबैलाई परिक्षणको दायरामा ल्याउने नसकिएको बताएका थिए ।

यता, सुनसरीका समिति प्रमुख गोपालराज भण्डारी लगायतले किट अभावको समस्या छिट्टै हल गर्न मन्त्री घिमिरेलाई आग्रह गरेका थिए । जवाफमा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक जिल्लालाई दोस्रो चरणमा ३ सय ६० का दरले किट पठाइसकिएको र प्रकोपको जोखिम बढी भएका जिल्लामा आवश्यकताका आधारमा थप किट पठाइने बताएका थिए ।

कोशी अस्पतालमा केही दिन मात्रै पुग्ने सामाग्री

यता, विराटनगरस्थित कोशी अस्पतालमा समेत पीसीआरबाट गरिने थ्रोट स्वाब नमूना परीक्षणका लागि आवश्यक सामाग्री केहीदिनका लागि मात्रै पुग्ने भएको छ । अस्पतालकी मेडिकल सुप्रिटेन्डेन्ट डा. संगीता मिश्रले पीसीआरको लागि आवश्यक किट भए पनि स–साना अन्य आवश्यक सामाग्री सकिँदै गएकाले नमूना परीक्षण कार्य म्यानुअल्ली हातबाट गरिँदै आएको बताइन् । म्यानुअल्ली काम गर्नुपर्दा समय बढी खर्च भएको छ भने अस्पतालले पीसीआर मेशिनको सबै सामाग्री नहुँदा शत प्रतिशत संख्यामा रिपोर्टको नतिजा दिन सकेको छैन ।

नेपालमा कोरोना संक्रमित ५७ जना पुग्दा प्रदेश एकमा मात्रै सबैभन्दा बढी ३१ जना कोरोना संक्रमित पहिचान भएका छन् । यी मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्