Techie IT
Mission Khabar

अभिनेता ऋषि कपूरको निधन, बलिउड उद्योगले लगातार दुई हस्ती कलाकार गुमायो


काठमाडौं\मुम्बई । बलिउड चलचित्र उद्योगले लगातर दुई हस्ती कलाकार गुमाउनुपरेको छ । आज मात्रै बलिउड अभिनेता ऋषि कपूरको ६७ बर्षको उमेरमा निधन भएको छ भने बुधबार अभिनेता इरफान खानको निधन भएको थियो ।

क्यान्सर रोगबाट पीडित कपूरको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सरसँग जुधिरहेका उनी मंगलबार भने स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका थिए । उनको निधनको पुष्टि ऋपि कपूरका दाइ रणधीर कपूरले गरेका छन् । क्यान्सर रोगसँग जुधिरहेका कपूर एक बर्षसम्म अमेरिकामा उपचार गराएर गत सेप्टेम्बरमा फर्किएका थिए । गएको फेब्रुअरीबाट उनको स्वास्थ्यमा पुनः समस्या आएको थियो ।

सन् १९७३ मा बबी चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका कपूरले बालकलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गरेका थिए । ऋषि कपूरका छोरा रणवीर कपूर बलिउडका पछिल्ला स्टार अभिनेता हुन् । ऋपि कपूरको निधनप्रति अभिनेता अमिताभ बच्चनले गहिरो दुख व्यक्त गरेका छन् ।

एक छोरा र एक छोरीका बुबा कपूरको अन्तिम चलचित्र इमरान हाशमीसँगको द बडी बनेको छ भने अभिनेत्री दीपिका पादुकोणसँग हलिउड चलचित्र द इन्टर्नको हिन्दी रिमेकमा काम गर्ने तयारी अधुरो छाडेर सधैका लागि अस्ताएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्