Techie IT
Mission Khabar

तत्काललाई साम्य भयो सत्तारुढ नेकपाको आन्तरिक किचलो, स्थायी कमिटिको प्रतिक्षा


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्रको आन्तरिक किचलो तत्कालका लागि साम्य हुने भएको छ । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले आत्मालोचना गर्दै पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य मान्यता अनुसार तथा सरकार पार्टीको मार्गनिर्देश अनुसार चलाउने निर्णय गरेर तत्कालका लागि बिवाद साम्य पारेका हुन् ।

यसअघिको बैठकमा सह अध्यक्ष जस्तो हैसियतमा अन्य सचिवालय सदस्यसँगै बस्ने अध्यक्ष प्रचण्डको बसाईँ समेत फेरिएको छ । शनिवारको बैठकमा दुबै अध्यक्ष(ओली र प्रचण्ड) का लागि समान खालको बासाइँको व्यवस्थापन गरेर टाँढिएका दुई अध्यक्ष समान हैसियतमा रहेको शन्देष दिन खोजिएको छ । टाँढिएका दुई अध्यक्ष एकै स्थान आइपुग्लान् त ? यो प्रश्न भने अझै अनुत्तरित छ । अझ, उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको सचिवालय बैठकले बैशाख २५ गते पार्टी स्थायी कमिटि बैठक बोलाएको छ ।

कोरोनाको महामारीपछि बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रस्ताव गरेसँगै नेकपामा थप तरंग पैदा भएको थियो । अझ, प्रचण्ड र नेपाल पक्षका नेताहरुले भैसेपार्टीमा बैठक बसेर प्रधानमन्त्री ओली बिरुद्ध शक्ति संघर्षमा उत्रने निर्णय लिएका थिए । पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय प्रधानमन्त्री र नेताहरुले कार्यान्वयन गर्छन वा भोलिका दिनमा पनि द्धन्द्धको बिउ रोप्छन समयले आफै देखाउनेछ ।

 वैशाख २५ गते बिहान ११ बजे बोलाईएको स्थायी कमिटी बैठकले पार्टीलाई कस्तो गति दिन्छ, यसलाई पनि चासोका साथ हेरिएको छ । नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेको अवस्थामा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक नबोलाउने अडानबाट पछि हट्नु र प्रचण्ड–माधव समूह बहुमत रहेको स्थायी कमिटी बैठक बोलाउन सफल हुनुलाई अर्थपुर्ण मानिएको छ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी बैठकले बिवाद किनारा लगाएर पार्टीलाई एकताबद्ध बनाउन भुमिका खेल्छ वा बिवाद थप बल्झाउँछ । बैशाख २५ कुर्नुपर्नेहुन्छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्