Techie IT
Mission Khabar

कोरोना महामारीविरुद्धको युद्ध जारी, अग्रमोर्चामा लड्ने बिश्वका पाँच महिलामा नेपाली डा. रुना झा पनि


काठमाडौं । विश्वका २ सय १० देशमा स्वास्थ्य समस्या निम्त्याइरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध लड्न सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन् । संयुक्त राष्ट्र संघको ‘यूएन वुमेन’ले कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर काम गर्ने विश्वका उत्कृष्ट पाँच महिलाको कथा सार्वजनिक गरेर कोरोना रोकथाममा योगदान दिनेहरुलाई हौसला प्रदान गरेको छ ।

उत्कृष्ट पाँचमा पर्ने महिलामा संयुक्त राष्ट्रसंघका फिल्ड एसिसटेन्टद्वय अमल अल महायरा र और हादेल दाबिबेह जोर्डनमा कार्यरत छन् । दुवैजना जोर्डनका संक्रमित महिला र सिरियाका शरणार्थीहरुको सेवामा सक्रिय छन् । यस्तै सूचीमा पर्ने अर्की महिला चीनकी यान सेंगलियान हुन् । उनी चीनको ग्रामीण क्षेत्रको स्वास्थ्योपचारमा क्रियाशिल छिन् । उत्कृष्टको सूचीमा पर्ने अर्की महिला कजाकस्तानकी दिना स्माइलोबा हुन्, उनी क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सेवामा खटिएकी छिन् । यस्तै, क्यारेबियन मुलुक एन्टिगुवा एन्ड बरबुढामा कार्यरत रियान्सिया हेनरी पनि उत्कृष्ठा पाँचमा परेकी छिन् ।

नेपालबाट डा. रुना झाले पनि कोरोना रोकथामको अग्रमोर्चामा खटिने विश्वका उत्कृष्ट पाँच महिलाको स्थान बनाएकी छिन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रहेकी झाले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् । झाको टोलीले नै फागुनको पहिलो साता चीनको वुहानबाट ल्याइएका १ सय ७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा प्रवेश गरी उनीहरुको थ्रोट स्वाब संकलन गरेरे परिक्षण गरेको थियो । यो काम चुनौतीपूर्ण मात्रै छैन, परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् ।

डा. झाले लामो समयदेखी आफ्ना बुबाआमासँग समेत भेटघाट गर्न पाएकी छैनन । उत्कृष्ट महिलाको सूचीमा परेकी डा. झाले मानवता र मानव स्वास्थ्यका लागि केही राम्रो काम गरेको अनुभुति भएको बताइन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्