Techie IT
Mission Khabar

२७ देशका पाँच हजार बढी नेपालीमा कोरोनाको संक्रमण, मृतकको संख्या ७३ पुग्यो


काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । विश्वका विभिन्न राष्ट्रमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शनिबार रातीसम्म ७३ पुगेको गैह्र आवासीय नेपाली संघ एनआरएनएले जानकारी दिएको हो ।

संघका अनुसार बेलायतमा सबैभन्दा बढी ४९, अमेरिकामा १५, युएइमा ५, आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डमा १\१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । आइतबार बिहानसम्म नेपाल बाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको पाइएको छ । मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानाडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३ जना नेपालीमा कोरोना संक्रमण पहिचान भएको छ । संक्रमितमध्ये १५ सय ७० जना निको भएपनि मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणबाट प्रभावित हुनेको संख्या बढ्दो क्रममा छ ।

गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूह अर्थात स्वास्थ्य समितिका अनुसार २७ देशका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् । गैरआवासीय नेपाली संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुलाई लक्षित गर्दै ४५ देशका राष्ट्रिय समिति मार्फत राहत वितरणको काम जारी राखेको जानकारी दिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष तथा कोभिड १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले कोरोना भाइरसका कारण ठूलो संख्यामा गैरआवासीय नेपालीहरुको निधन भएकोप्रति दुःख व्यक्त गरे । उनले कोरोनाबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीहरुलाई राहत वितरण गरिएको जानकारी दिए ।

एनआरएनए स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गरिरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्