Techie IT
Mission Khabar

सोमबार देशभर आंशिकदेखी पूर्ण बदलीको सम्भावना, मौसम सफा हुन अझै केही दिन लाग्ने


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा सोमबार आंशिकदेखि पूर्ण बदली हुने तथा केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा तथा काठमाडौंमा हल्का बर्षा भैरहेको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको र यो मौसम केही दिनसम्म सक्रिय रहने मौसमविद्ले बताएका छन् । पूर्वी क्षेत्र नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेका कारण केही दिन आंशिकदेखी पूर्ण बदली र बर्षाको सम्भावन कायमै रहने देखिन्छ ।

सोमबार दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य देखि पूर्ण बदली रहने तथा केही स्थानमा हावाहुरी, मेघगर्जन,चट्याङ्ग सहित असिना र वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिए । राति समेत देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य क्षेत्रका थोरै स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको पूर्वानुमान गरिएको छ ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले नेपाल प्रवेश गरेको मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा नहुने बताए । मौसम पूर्वानुमान महाशाखाले समेत पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जनाएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्