किट अभावले सुस्ताएको कोरोना परिक्षण, संक्रमित पहिचानमा ढिलाई हुँदा महामारीको जोखिम
खबर बिश्लेषण, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पीसीआर मेसिन जनशक्ति भएरपनि सञ्चालनमा आउन सकेन । यसको कारण थियो किट अभाव ।
प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पतालका निर्देशक डा. मङ्गल रावलले गत मङ्गलबार कोरोना भाइरस परीक्षणका लागि पीसीआर मेसिन जडान गरिएपनि किट अभावले सञ्चालन गर्न नसकेको मिसन खबरसँग स्विकार गरे । ठूलो क्षमताको यो पीसीआर मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने भएपनि सञ्चालनमा ल्याउनै समस्या भैरहेको छ । सञ्चालन भैहालेपनि निरन्तरता कहिलेसम्म भन्ने प्रश्न अन्य क्षेत्रका ल्याबले ब्यहोर्नुपरेको किट लगायतका सामाग्री अभावले उब्जाइदिएको छ । मेसिन सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिहरूको शुरुमा आरडीटी परीक्षण गर्ने र थप शङ्कास्पद भएमा पीसीआर जाँचका लागि सुर्खेत पठाउनुपर्ने बाध्यता छ ।
विराटनगरस्थित कोशी अस्पतालको कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिन बन्द
यता, विराटनगरस्थित कोशी अस्पतालले कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट (आरएनए एक्ट्रयाक्सन किट) माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई पटक पत्र लेख्यो । मन्त्रालयले किट पठाउँन नसक्दा कोशी अस्पतालको कोरोना परीक्षण ल्याबको अटोमेटिक मेसिन एक सातायता बन्द छ । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले अटोमेटिक मेसिनबाट एकै पटक ७२ वटा स्वाब परीक्षण गर्न सकिने भएपनि सरकारी बेवास्थाले समस्या भएको बताईन । शनिबार मात्रै प्रदेश सरकारले कोरोना परीक्षणका लागि छुट्टै ल्याब थप गरेपनि ल्याब पूर्ण क्षमतामा सञ्चालन नहुँदा परीक्षण थोरै हुने र रिपोर्ट ढिलो आउने समस्या छ । प्रदेश १ मा मात्र ३१ जना कोरोना संक्रमित उपचाररत छन् ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभाव, पीसीआर जाँच प्रभावित
प्रदेश ५ को भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा समेत किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । भाइरस जाँचका लागि आवश्यक पर्ने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट सकिएपछि आइतबारदेखि पीसीआर टेष्ट रोकिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले किट छिटो पठाउन भन्दै जानकारी गराएपनि केही दिन लाग्ने जवाफ आएको बताए । तीवटा प्रादेशिक प्रयोगशाला भैरहवा, भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दैनिक सरदर २० जनाको पीसीआर परीक्षण हुने गरेको प्रदेश जनस्वास्थ्य निर्देशनालय बताउँछ । आइतबार एकैदिन १५ जनाको र दुईदिन अघि एकजना संक्रमित पहिचान भएको यो प्रदेशमा समेत किट अभावले परिक्षणको दायरा बढाउन सकिएको छैन ।
यी केही प्रतिनिधि उदाहरण मात्रै हुन्, देशका अधिकांश स्थानका प्रयोगशाला कोरोना परिक्षणको किट लगायतका सामाग्री अभावको सामना गरिएका छन् । भएका ल्याबमा समेत आवश्यकता अनुसार किट लगायतका सामाग्री पर्याप्त छैनन भन्ने गुनासो छ । भारतसहित विभिन्न मुलुकबाट लाखौँ नेपाली स्वदेश फर्किएका छन् । उनीहरु मध्ये एक दुई प्रतिशत मात्रै कोरोना परीक्षणको दायरामा आएका छन् । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु केही ल्याबको कमजोरीका कारण घर फर्किएपनि कोरोना पोजेटिभ पहिचान हुँदा समस्या बढिरहेको छ । जतिसक्दो धेरैलाई परिक्षणको दायरामा ल्याएर कोरोनाको पहिचान तथा उपचार गर्नुपर्नेमा किट अभावका कारण गर्नैपर्ने आवश्यकता ठानिएका व्यक्तिको समेत परिक्षण र नतिजा आउन ढिलाई भैरहेको छ ।
अटोमेटिक मेसिनमा प्रयोग हुने किट थोरै रहेको दाबी गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भएका सामग्रीलाई आवश्यकता अनुसार वितरण गरिने दाबी गरिरहेको छ । तर स्वास्थ्य क्षेत्रका जानकारहरु किट अभावले कोरोना संक्रमितको पहिचानमा ढिलाई हुँदा संक्रमणले भयाबह रुप लिने जोखिम बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराईरहेका छन् । सरकार किट अभावले कोरोना परिक्षण नै सुस्त भैरहदा ठूलो संख्यामा संक्रमित पहिचान भएमा उपचार कसरी सम्भव होला ? आम जनताले अहिले यस्तै प्रश्न गरिरहेका छन् ।
क्याटेगोरी :
देश / प्रदेश,
शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्