Techie IT
Mission Khabar

नेपालमा कोरोनाको कहर : लकडाउनमा समेत निरन्तर बढ्दै त्रास, कोरोनाको सुस्त जाँच


काठमाडौं । देश कोरोनाको सम्भावित महामारी रोक्न भन्दै लकडाउन भएको डेढ महिना बितेको छ । योबीचमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दा लकडाउनले पटक पटक निरन्तरता पाइरहेको छ । कोरोना संक्रमितको संख्या सय हाराहारी पुग्दैगर्दा जोखिम पनि बढेको छ । पछिल्लो पटक प्रदेश पाँचको नेपालगञ्जमा २२ जना र प्रदेश २ को वीरगञ्ज क्षेत्रमा बुधबार मात्रै १७ जना कोरोना संक्रमित पहिचान भएसँगै सरकारले पछिल्लो पटक थपेको लकडाउनको समयसिमा बढाएर आगामी जेठ ५ गतेसम्म पुर्याएको छ ।

अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाकाको आवागमनको रोक समेत जेठ १८ गतेसम्म पुर्याइएको छ । हुन त सरकारले प्रदेश प्रदेश बीचको मात्रै नभएर एक स्थानीय तहबाट अर्कोमा जान समेत प्रतिबन्ध लगाएपनि आवत जावत कायमै छ । लकडाउनको बढ्दो उल्लंघन र समूदायस्तरमा भैरहेको कोरोनाको पहिचानका कारण नै सरकार रातो, पहेँलो र हरियो क्षेत्र विभाजन गरेर लकडाउन केही खुकुलो बनाउने योजनाबाट पछि हटेको छ । लकडाउनमा समेत नागरिक स्तरबाट भैरहेको चरम बेवास्ता आँकलन गरेको सरकाले नै बैशाख २६ गतेबाट करिब ५० वटा उद्योग कलखारखाना खुल्न दिनेगरि तयारी थालेको छ । उनीहरुलाई सिमित कर्मचारी र सुरक्षा सावधानी सहित खोल्ने भनिएको छ ।

बैशाख २६ बाट खोल्न छुट दिइएका उद्योगहरु

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि जारी लकडाउनले बुधबार ४४ दिन पार गर्दैगर्दा देशभर १४ हजार ९६पीसिआरबाट जाँच भएका छन् । आरडीटी तर्फ देशका विभिन्न स्थानमा परिक्षणको दायरामा ल्याइएकाहरुको संख्या ५२ हजार ९ सय ७० पुगेको छ । पछिल्लो केही समयदेखी तिब्र गतिमा भैरहेको परिक्षण मौजात किट लगायतका सामाग्री अभावले केही सुस्त भैरहेको स्विकार गर्ने सरकारले छिट्टै आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने दाबी पनि गरिरहेको छ । किट लगायतको अभावका कारण पछिल्लो २४ घण्टामा ९ सय ९१ जनाको कोरोना परिक्षण भएको सरकारी तथ्यांक छ ।

क्वारेन्टाइनमा रहेका १९ हजार ७ सय ३४ जनामध्ये १ सय ३६ जना मिल्दोजुल्दो लक्षणसहित उपचारका क्रममा रहँदा रेड जोड अर्थात सम्भावित संक्रमितको संख्या नै ३ सय ३३ छ । बढाईएको कोरोना जाँचसँगै ठूलो संख्यामा कोरोना संक्रमित पहिचान हुनु र सम्भावित संक्रमितका रुपमा निगरानीमा राखिएका व्यक्तिहरुको संख्या नै ३ सय बढी हुनुले सिंगो राष्ट्रलाई त्रसिद बनाएको छ । भैरहवा, रुपन्देही लगायतका केही प्रदेश जनस्वास्थ्य प्रयोगशाला अनि विराटनगरस्थित पीसिआर प्रयोगशालामा किट लगायतका सामाग्री अभाव भएका कारण कोरोना पहिचानमा समस्या आएको छ । जिल्ला र स्थानीय तहमा र्यपिट किट अभावको गुनासो उस्तै छ ।

मन्त्रिपरिषद बैठकमा समेत रातो, पहेँलो र हरियो क्षेत्र विभाजनको योजना सहित लकडाउन खुकुलो गर्ने प्रस्तावमा प्रधानमन्त्री स्वयमले कोरोना जाँच सोचेजति गर्न नसकेको स्विकार गर्नु र छिमेकी राष्ट्र भारतमा बढ्दैगरेका संक्रमित र मृत्युको दरले समेत हामी जोखिम छौँ भन्ने देखाउँछ । अर्कोतर्फ लकडाउन लम्ब्याएर मात्रै कोरोनाको पहिचान र रोकथाम सम्भव हुँदैन । योबीचमा व्यक्ति व्यक्तिले सुरक्षा सावधानी अपनाउँदै सामाजिक दुरी कायम गर्ने र सम्भावित क्षेत्रको कोरोना जाँचलाई तिब्रता दिन सक्नुपर्छ ।

लकडाउनलाई निरन्तरता दिदा देशकै अर्थतन्त्रमा नकारात्मक असर पर्नेभन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन केही खुकुलो बनाउनुपर्ने आवाज पनि पछिल्लो समय बढ्न थालेको छ । सिंगो राष्ट्र र नागरिकलाई कोरोनामुक्त बनाउन सरकार मात्रै होइन्, तपाई हामी सबैले हातेमालो गरौँ, आफू बचौँ, अरु सबैलाई सचेत बनाऔँ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्