Techie IT
Mission Khabar

जापानमा कोरोना कहर : गम्भिर बिरामीलाई मात्रै कोरोना परिक्षण, १० औँ लाख नेपाली जोखिममा


सुर्य अधिकारी, जापान । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन भन्दै विश्वका अधिकांश देश लकडाउन भैरहदा जापान भने खुल्ला जस्तै छ । जापनमा केवल स्वास्थ्य खापतकाल घोषणा गरिएको छ । अमेरिका र युरोपमा भाइरस फैलिरहेको देख्दा जापानमा पनि महामारी फैलिने त्रासदी छ । तर जापान ताइवान, हङकङ, दक्षिण कोरिया र चीनकै अधिकांश भागमा पूर्णरुपमा लकडाउन नगरि कोरोना नियन्त्रण गरिएको मोडल अपनाइरहेको छ ।

जापनमाथी अधिकांशले उठाउँदै आएको एउटा प्रश्न भने स्वभाविक देखिन्छ । नेपाली विद्यार्थी तथा कामदारको समेत ठूलो संख्या रहेको जापानमा कोरोना भाइरस परिक्षण नै निकै कम हुँदा कोरोनाको अवस्था र सम्भावित जोखिम पत्ता लगाउन गाह्रो परिरहेको छ । अर्थात कोरोना भाइरसको परीक्षण किन कम भइरहेको छ ? भन्ने प्रश्न जापन आफैले उब्जाएको छ । जर्मनी वा दक्षिण कोरिया, हङकङ, ताइवानको तुलनामा जापानमा निकै कम परिक्षण भएको छ । केही समय अघिको परिक्षणको अवस्थाले पनि यो कुरालाई पुष्टि गर्छ । ९३ लाख जनसंख्या भएको राजधानी टोकियोमा गत फेब्रुवरीमा केवल १० हजार नौ सय ८१ जनामा कोरोना भाइरसको परीक्षण गरिएकोमा चार हजारमा भाइरसको संक्रमण देखिएको थियो । यसले संक्रमणको दर उच्च देखिदा समेत निकै कम परिक्षण भैरहेको तथ्य उजागर गरेको छ ।

निकै कम परीक्षण त्यसमाथी पनि परीक्षण गरिएकामध्ये धेरैमा संक्रमण यसले जापानमा कोरोनाको जोखिम उच्च देखाएको छ । जापानमा गम्भीर बिरामी भएपछि मात्र कोरोनाको परीक्षण गर्ने गरिन्छ । आधिकारिक दिशानिर्देशअनुसार डाक्टरहरूले बिरामीलाई निमोनिया भए मात्र कोरोना भाइरस परीक्षणको सिफारिस गरिरहेका छन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार उल्लेख्य मात्रामा कोरोना भाइरसको परीक्षण बढाउने निर्णय गरेको भए पनि अहिले सरकारले कुल क्षमताको आधा मात्र परीक्षण गरिरहेको छ । कतिपय अस्पतालले भर्ना लिन नमान्दा र संक्रमण पहिचान भएका व्यक्तिलाई समेत गाह्रो भएमात्रै अस्पताल आउन भन्दै घरमै आइसोलेसनमा बस्नु भनिदा नेपाली समेत जोखिममा परेको देखिन्छ । चारदिन लगातार ज्वरो आएको व्यक्तिलाई मात्रै स्थानीय परामर्श केन्द्रमा सम्पर्क गर्ने पुरानो व्यवस्था परिवर्तन गर्दै भर्खरैमात्र जापानले ज्वरोसँगै, स्वासप्रश्वासमा समस्या र कडा थकान महशुस गर्नेहरुलाई समेत परामर्श केन्द्रमा सम्पर्क गर्न भनेको छ । यसले परिक्षणको दायरा बढाउने अनुमान गरिएको छ ।

शनिबार मात्रै ८८ जना नयाँ संक्रमित पहिचान भएको जापानमा १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म १५ हजार ६ सय बढी संक्रमित पहिचान हुँदा ७ सय ८५ को ज्यान गएको छ । अहिलेसम्म जापानमा २ लाख ११ हजार ९ सय ९७ जना मात्रै कोरोना परिक्षणको दायरामा आएका छन् । किङ्स कलेज लण्डनका प्राध्यापक केन्जी शिबुया सामान्य संक्रमण देखिएका मानिसभन्दा पनि गम्भीर बिरामीमा ध्यान केन्द्रित गरिनु स्वभाविक भएपनि परिक्षणको दायरा बढाउनुपर्ने बताउँछन् । केही समय अघि मात्रै टोकियोको केईओ युनिभर्सिटीले अस्पतालले गरेको अध्ययनमा कोभिड–१९ सँग सम्बन्धित नरहेका बिरामीमा गरिएको परीक्षणमा ६ प्रतिशतलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो अध्ययनले जापानमा सामुदाय स्तरमा उल्लेख्य मात्रामा यो भाइरस फैलिएको र थप फैलिने जोखिममा जापानलाई देखाएको छ । यो अध्ययनलाई आधार मान्दा जापानमा संक्रमितको संख्या २० देखि ५० गुणासम्म बढ्ने देखिन्छ ।

यस्तै बेवास्ताका कारण जापानमा कोरोनाबाट केही चर्चित अनुहारले समेत ज्यान गुमाएका छन् । चर्चित कमेडियन केन शिमुरा, नायिका कुमिको ओकाइलगायत ज्यान गुमाउँदा सात सुमो रेस्लर, टीभी कार्यक्रम प्रस्तोता, दुई व्यावसायिक बेसबल खेलाडी र एक चर्चित स्क्रिन राइटर संक्रमित भएका छन् । जापानको मेडिकल एसोसिएसनका प्रमुख योसिताके योकोकुरा नै टोकियोमा भेटिएका ७० देखि ८० प्रतिशत नयाँ संक्रमित भाइरसको महामारी फैलिएको मुलुकमा नगएका मानिसहरू भएकाले परीक्षणको दायरा बढाउनुपर्ने बताइरहेका छन् । जापानमा भैरहेको कम परिक्षणका कारण संक्रमित एकिन गर्न गाह्रो भैरहदा शिक्षा, रोजगारी तथा पेशा व्यवसायका क्रममा बासोवास गर्दै आएका १० औँ लाख नेपालीमा चिन्ता थपिएको छ । कतिपयको रोजगारी खोसिएपनि खुल्ला रहेका क्षेत्रमा नेपालीहरु त्रास र जोखिमकाबीच काम गरिरहेका छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्