Techie IT
Mission Khabar

बजेट चर्चा : कोरोना राहत प्याकेज, कृषी, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता


काठमाडौं । नयाँ कार्याक्रम भन्दा पनि कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव हल गर्नेगरी कृषी उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने बजेटको अपेक्षा गरिदैगर्दा सरकार पनि यस्तै तयारीमा जुटेको छ । आर्थिक वर्ष २०७७\७८ को बजेट सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रलाई थप गतिशील बनाउनेगरि बजेट तर्जुमा गरिएको जानकारी दिएसँगै सरकारको बजेट रोजगारी सिर्जना गराउने खालका गतिविधि, कृषि, साना घरेलु र सेवा क्षेत्रमा बढी केन्द्रित हुने देखिएको हो ।

सरकार जनताको द्रूत विकासको चाहना, राज्यका निर्देशक सिद्धान्त, १५ औं योजना, कोरोनाबाट सिर्जना हुने संकटलगायतलाई ध्यानमा राखेर आगामी आवको बजेट निर्माणमा जुटेको अर्थमन्त्री नै जानकारी गराईसकेका छन् । विश्वव्यापी महामारीले सिर्जना गरेको शिथिल परिस्थितिको अन्त्य गर्दै आर्थिक गतिविधिलाई अगाडि बढाउने खालका कार्यक्रमहरू, रोजगारी सिर्जनालाई एकीकृत रुपमा अगाडि बढाउन संघ, प्रदेश र स्थानीय तहमा समेत समन्वय गरिने गरि बजेट आउने भएको छ । सरकारले राष्ट्रिय गौरव तथा सञ्चालनमा रहेका ठूला आयोजनामा स्रोत सुनिश्चित गरेको छ भने उत्पादनका साधनमा सबै नागरिकको पहुँच पुग्नेगरी बजेटको प्राथमिकता तय गरिएको बताइएको छ ।

स्वास्थ्य बिमाको विस्तारसँगै सबै नागरिकको पहुँचमा आधारभुत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य बजेटमा राखिएको छ । सबै नागरिकलाई साक्षर बनाउने अभियानलाई समेत बजेटको प्राथमिकतामा छ । कोरोनाबाट बढी प्रभावित पर्यटनसहितको सेवा क्षेत्रलाई पुनरुत्थान गर्नको लागि आवश्यक पर्ने राहत प्याकेज, आन्तरिक पर्यटनलाई बढावा दिँदै यो क्षेत्रमा चहलपहल बढाउने र हवाई पूर्वाधार निर्माणलाई बजेटले प्राथमिकता दिनेछ । चालु आयोजना सकाउने र अत्यावश्यकबाहेकका नयाँ आयोजनामा बजेट खर्च नगर्ने सरकारी नीति अबलम्बन गरिदैछ । रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, विपन्नता र गरिबीलाई अन्त्य गर्न राज्यका तर्फबाट विशेष व्यवस्था, निजी क्षेत्रलाई कर सहुलियतमार्फत प्रोत्साहनको नीतिलगायत बजेटमा पर्नेछन् ।

राजस्व प्रणालीमा समेत आन्तरिक आयलाई प्राथमिकतामा राखिएको छ । कर परिपालनालाई बढावा दिन लागेको सरकारले करको दायरा भने नबढाउने जनाएको छ । सरकारले अर्थतन्त्रलाई गतिशील बनाउने, सार्वजनिक, निजी र सहकारीको सहयोगमा आत्मनिर्भर उन्मुख बन्ने, भविष्यमा आउनसक्ने विपद्को पूर्वतयारीको व्यवस्थापन गर्ने लगायतलाई बजेटको प्राथमिकतामा राखेको बताइएको छ । अर्थमन्त्री खतिवडाले वित्तीय संघीयतालाई बलियो र पारदर्शी बनाउने, प्रगतिशील राजस्व प्रणालीमार्फत करको दरभन्दा दायरा बढाउनेलगायतका विषय पनि प्राथमिकतामा रहेको बताएका छन् ।

बैङ्किङ प्रणालीलाई उत्पादनमुखी तुल्याउने, रोजगारी गुमाएकालाई रोजगारी दिने, साना उद्यमलाई प्रबर्धन, सिपमूलक तालिमहरू सञ्चालन गर्दै सबैलाई उत्पादनसँग जोड्ने र वैदेशिक रोजगारीमा देखिएको चुनौतीलाई अवसरमा बदल्ने सरकारको प्राथमिकता छ । कृषि क्रान्तिका लागि स्रोतसाधन परिचालन गर्ने, कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउने लगायत आत्मनिर्भर अर्थतन्त्र केन्द्रित योजना सहित बजेट ल्याउने तयारीमा सरकार जुटेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्