Techie IT
Mission Khabar

कपिलवस्तु जिल्ला सिल, कोरोना पहिचान तथा रोकथामका लागि उच्च सतर्कता


काठमाडौं\कपिलवस्तु । सोमबार मात्रै १० जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित पहिचान भएको कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल गरिने भएको छ । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको र उनीहरुका कारण कोरोनाको जोखिम बढेको निष्कर्ष सहित जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट आगामी जेठ ५ गतेसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

अहिले कपिलवस्तु सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले संक्रमण थप बढ्न नदिन तथा संक्रमितसँग संगत भएकाहरुको पहिचानका लागि सिल गर्ने निर्णय गरिएको जानकारी दिए । योसँगै पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् ।

स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र सवारी साधन, उद्योग, निर्माण लगायतमा रोक लागेको छ । कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ । विहान ७ बजेदेखि ९ बजेसम्मको समय तरकारी तथा खाद्यान्न किनमेलका लागि छुट्याइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्