Techie IT
Mission Khabar

लकडाउनमा वैदेशिक रोजगारीको कहर, सयौँ नेपालीको शव विदेशमै अलपत्र


काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथामको जारी लकडाउनका कारण वैदेशिक रोजगारीका क्रममा विदेशी भूमिमा ज्यान गुमाएका सयौँ नेपालीको शव अलपत्र परेको छ । बैदेशिक रोजगार बोर्डका अनुसार विदेशमै दाहसंस्कारको लागि सहमती नजुट्दा र जारी लकडाउनका कारण शवहरु स्वदेश ल्याउन समस्या भएको हो ।

बोर्डका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले भने परिवारको अनुमति लिएर विदेशमै दाहसंस्कारको प्रयास गरिएपनि सहमति पाउनै गाह्रो भयो । यूएईमा ३, सिसेल्समा १, टर्कीमा १ र दक्षिण कोरियामा १ जनाको दाहसंस्कार गरिएको र बाँकी ८ जना मृतकका परिवारले उतै दाहसंस्कारका लागि सहमति दिएपनि बाँकी शव नेपाल ल्याउन समस्या भएको छ ।  बोर्डका अनुसार वैदेशिक रोजगारीमा पुगेका सयभन्दा बढी नेपालीको शव अहिले अलपत्र छ ।

यूएईमा २१, साउदी अरबमा ३३, मलेसियामा ३०, कतारमा २६, कुवेतमा ७ तथा दक्षिण कोरिया, बहराइन, साइप्रस र ओमानमा एक एक जना नेपाली कामदारको शव अलपत्र परेको छ । यी मध्ये यूएईमा २ तथा टर्की र साउदी अरबमा एक एक जनाको कोरोनाका कारण ज्यान गएपनि बाँकी अन्य कारणले ज्यान गुमाएका छन् ।

विदेशका विभिन्न देशबाट तत्काल डेढ लाख नेपाली नेपाल आउन हारगुगार गरिरहेपनि सरकारले खोज तथा उद्धारलाई अघि बढाउन सकेको छैन । लकडाउनकै कारण कतार सरकारले एक सय ९ जना नेपालीलाई डीपोर्ट गर्ने निर्णय गरेपनि उनीहरु उतै अड्किएका छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्