Techie IT
Mission Khabar

कोरोना कहर : सीमा नाकामा सधै भीडभाड, स्वदेश फर्किन हारगुहार


काठमाडौं\कपिलवस्तु । यतिबेला बिश्वका २ सय १० देशमा कोरोनाको महामारी छ । अधिकांश देश लकडाउन भैरहदा, केही आन्तरिक रुपमा चलायमान छन् त केहीले आन्तरिक र बाह्य सबै गतिबिधि ठप्प पारेको छन् । कोरोनाको महामारी रोकथामका लागि भन्दै हाम्रो देश पनि लामो समयदेखी लकडाउन छ । तर भारतका विभिन्न शहरमा पुगेका नेपालीहरु लुकिछिपि घर फर्किदा कोरोना रोकथाम होइन्, जोखिम बनिरहेको छ ।

लकडाउनका बीचमा घर फर्किने नेपालीलाई नाकामा प्रहरीले रोकेपनि लकडाउन जारी नै रहेको भारतबाट नेपालीहरु सहजै नाकासम्म आइपुग्दैछन् । नाकामा बढिरहेको नेपालीहरुको भीडभाडलाई कतिपयले भारतले नेपाली कामदार लखेट्न थालेको भनिरहेका छन भने कतिपयले संकटको बेला आफ्नै देशमा पुगौँ भन्ने आकांक्षा भएको बताइरहेका छन् । तर जे जस्तो कारणले आएका भएपनि सीमा क्षेत्रमा बढिरहेको भीडभाडले कोरोना रोकथामको प्रयासमा चुनौती थपेको छ । हरेक दिन जस्तो बाँकेको सीमानाका मात्रै होइन, ५ नम्बर प्रदेशको रुपन्देही, कपिलबस्तु लगायतका सीमा नाकामा नेपालीको भीड बढिरहेको छ । लुकिछिपि दिनहुँ सयौँ स्वदेश फर्किरहेका छन् । सुदरपश्चिम प्रदेशको कैलालीस्थित गौरीफण्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिन चाहानेहरुको भीडभाड लकडाउन सुरु भएदेखि नै देखिएको थियो । अहिले यी नाकाबाट आउनेहरुको संख्यामा केही कमी देखिएपनि यो क्षेत्रबाट समेत लुकिछिपि नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन ।

२ नम्बर प्रदेशको वीरगञ्ज, जलेश्वर, गौर लगायतका नाकासँगै प्रदेश १ को काकडभिट्टा धुलावारी क्षेत्रमा समेत स्वदेश फर्किनेहरुको भीडभाड बढेको छ । नाका क्षेत्रमा मात्रै होइन, खुल्ला सीमाको फाईदा उठाउँदै लुकिछिपि स्वदेश फर्किनेहरु समेत पश्चिमदेखी पूर्वसम्म हजारौँ छन् । यसरी आउने मध्ये केही मात्रै छिमेकीको दबाबमा क्वारेन्टाइन पुगेका छन् । निक्कै कमको मात्रै स्वास्थ्य अवस्थाको एकिन भएको छ । पछिल्लो समय भारतबाट नेपाल भित्रिएकाहरुमै सबैभन्दा बढी कोरोना पहिचान भैरहेको छ । भारतबाट लुकिछिपि भित्रिएकाहरुकै कारण ५ नम्बर प्रदेश अहिले कोरोनाको इपिसेन्टर जस्तै बनेको छ ।

लकडाउन चलिरहँदा भारतीय प्रहरीले नेपालीलाई नाकासम्म आउन सहजै दिएका कारण नेपालीहरु सीमा नाकामा आएर थुप्रिएका छन् । उनीहरुलाई नेपाल प्रवेश दिएर क्वारेन्टाइनमा राख्ने कि नाकामै रोकिरहने भन्ने दुई विकल्पमा छलफल भैरहँदा सरकारले आफ्ना नागरिकलाई घर आउ भन्न र ल्याउन सकेन भन्दै आलोचना गर्नेहरु पनि उत्तिकै छन् । हुन त, नेपाल भारतको सीमा क्षेत्रमा हजारौं नेपालीको कोलाहल छ । मलेशिया, साउदी, दुवई, कतार, ओमान, बहराइन लगायतका मुलुकहरुमा स्वदेश फर्किन पाउँ भन्ने चित्कार छ । कतिपय देशमा हजारौँ नेपालीहरु रोजगारी खोसिएर अलपत्र पर्दा यो जोखिम बढ्दो छ । कोरोना भाइरसको महामारी सुरु भएको दुई महिना भन्दा बढी हुँदा विदेशमा बस्ने आफ्ना नागरिकप्रति सरकारले व्यवस्थित योजना सहित उपस्थिति देखाउन नसकेको गुनासो पनि उस्तै छ ।

नेपालमा रहेका भारतीयलाई यतै क्वारेन्टाइनमा राख्ने र भारतमा रहेका नेपालीलाई उतै व्यवस्थापन गर्ने मौखिक सहमति भएपनि भारतीय पक्ष नेपाली भगाउने दाउ चालिरहेको त छैन भन्ने आशंका गर्ने ठाउँ सीमा क्षेत्रमा दिनहु बढ्ने भीडले दिइरहेको छ । यो भीडलाई स्वदेश भित्राएर आफ्ना नागरिकप्रतिको दायित्व बोध गर्ने कि कोरोनाको जोखिम कम गर्न छिमेकीलाई अभिभावकत्व गरिदिन कन्भिन्स गर्ने ? सरकार दोधारमा देखिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्