Techie IT
Mission Khabar

कालापानी क्षेत्रबाट भारतीय सुरक्षाकर्मी हटाउन संसदीय समितिको निर्देशन


काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन सरकारलाई निर्देशन दिएको छ । भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेक कालापानी लगायत क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्चतहबाट राजनीतिक, कुटनीतिक र अन्य आवश्यक कार्य गर्न समितिले नेपाल सरकारलाई निर्देशन दिएको हो ।

भारतले तावाघाटदेखि दार्चुला जिल्लाको लिपुलेकसम्म सडक निर्माण गर्नु अन्तर्राष्ट्रिय कानून, दुई देशबीच विद्यमान सम्झौता र सहमति तथा असल छिमेकसम्बन्धी मान्यता विपरीत रहेको निश्कर्ष सहित संसदीय समितिले कालापानीमा नेपाली सुरक्षा र प्रशासनिक उपस्थिति गराउन समेत सरकारको ध्यानाकर्षण गराएको छ । समितिले अतिक्रमित नेपाली भूमिलाई समेटेर तत्काल नयाँ नक्सा जारी गर्न पुनः सरकारलाई निर्देशन दिएको छ ।

भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र आफ्नो नक्सामा समेटेपछि संसदीय समितिहरुले गत मंसिरमा नेपाली भूमि समेटेर नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएका थिए । सो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा नभई नेपाली भूमि नै फिर्ता ल्याउने अभिव्यक्ति दिएका थिए ।

भारतले लिपुलेक हुँदै मानसरोबरसम्म जाने सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेसँगै नेपाल र विदेशमा रहेका नेपालीले समेत भारतीय कदमको चर्को बिरोध गरिरहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्