Techie IT
Mission Khabar

सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री शुक्रबार आइपुग्दै, विमानबाट आउने अत्यावश्यक औषधी भने भन्सार प्रक्रियामै


काठमाडौं । चीनबाट नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री शुक्रबार काठमाडौं आइपुग्ने भएको छ । हवाई मार्गबाट स्वास्थ्य सामग्री ल्याउन ढिलाइ भएपछि सेनाले स्थलमार्गबाटै सामान ल्याउन लागेको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार वैशाख २२ गते चीनको ग्वान्झाओबाट हिँडेको कन्टेनर शुक्रबार काठमाडौं आइपुग्ने छ । यसपछि लगातर अन्य दुईवटा कन्टेनर आउने बताइएको छ ।

ग्वाञ्झाओबाट २२, २४ र २५ गते तीनवटा कन्टेनर नेपालका लागि स्वास्थ्य सामग्री बोकेर हिँडेक थिए । ११०, १३० र ३९९ सीयूएम स्वास्थ्य सामग्री बोकेका कन्टेनर १२ दिनमा स्थलमार्गबाट तातोपानी नाका हुँदै काठमाडौं आइपुग्न लागेका हुन् । यसअघि सेनाले पहिलो चरणमा हवाई मार्गबाट दुईवटा वाइडवडी विमानमार्फत स्वास्थ्य सामग्री ल्याउने भनेपनि चीनको सरकारी बिदा र भन्सारको लामो प्रक्रियाका कारण समस्या बेहोर्नुपरेको थियो । हवाईमार्ग र स्थलमार्ग दुवैबाट स्वास्थ्य सामाग्री ल्याउने प्रक्रियालाई निरन्तरता दिने भनेपनि पहिलो चरणमा विमानबाट ल्याउनुपर्ने ३७ टन अत्यावश्यक स्वास्थ्य सामग्रीको भन्सार प्रक्रियामै सेना अड्किएको छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले २ अर्ब २५ करोड बढीको सम्झौता गरेसँगै नेपाल कोरोना भाइरसको महामारीमा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने ८१ औं राष्ट्र बनेको छ । ओम्नी बिजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो । सरकार–सरकारबीचको समझदारी प्रक्रियाबाट नेपालमा दुई अर्ब २५ करोड रुपैयाँ बढीको तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी सेनाको हातमा पुगेपनि ल्याउन ढिलाई भैरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्