Techie IT
Mission Khabar

नेपालमा कोरोना कहर : थपिदै संक्रमित, काठमाडौं सहित २३ जिल्ला रेड जोनमा


काठमाडौं । कोभिड १९ संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको नेपालमा तीन महिनासम्म संक्रमितको संख्या ३० मात्रै थियो । तर पछिल्लो एक महिनामा अर्थात बैशाखमा मात्रै १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पहिचान भएपछि स्वास्थ्य क्षेत्रमा मात्रै होइन् सिंगो देश तरंगित भएको छ । पछिल्लो समय एकाएक उकालो लागेको संक्रमणको ग्राफलाई सरकारी विज्ञहरुले नै खतराको संकेत भन्न थालेका छन् ।

वैशाख ५ गते उदयपुर र चितवनमा गरी १४ जनामा संक्रमण देखिएपछि निरन्तर बढ्न थालेका कोरोना संक्रमितको संख्या बिहिबार विहानसम्म २ सय ४६ पुगेको छ । भारतसँग सीमा जोडिएका जिल्ला अर्थात प्रदेश १, २ र पाँचको तुलनामा केही सुरक्षित मानिएको काठमाडौं उपत्यकामा समेत संक्रमित पहिचान हुन थालेपछि संघीय सरकार नै झस्किएको छ । प्रधानमन्त्री केपि शर्मा ओली त काठमाडौं उपत्यकामा लकडाउन खुकुलो गरिएको भन्दै असन्तुष्ट बनिरहेका छन् । बिहिबार विहान अर्थात जेठ १ गते ३ जनामा संक्रमण पहिचान भएको छ भने अघिल्लो दिन अर्थात बैशाख ३१ गते २६ जना संक्रमित पहिचान भएका छन् । बैशाख ३० गते मंगलबार त नेपालमै अहिलेसम्मको उच्च संक्रमित पहिचानको रेकर्ड बनाउदै ८३ जनामा कोरोना पुष्टि भएको छ । बैशाख २९ गते सोमबार मात्रै पनि २४ जना संक्रमित पहिचान भएका छन् ।

नेपालमा देखिएको पछिल्लो कोरोना पहिचानको तथ्यांकले कोरोना महामारि थप तिब्र गतिमा बढ्ने आँकलन गर्न थालिएको छ । सरकारले उदयपुरको भुल्के, वीरगञ्ज, नेपालगञ्ज, रुपन्देही र कपिलवस्तुलाई कोभिड १९ को हटस्पट मानेर उच्च सतर्कता सहितको सावधानी अपनाइरहँदा भारतसँग सिमाना जोडिएका सबै जिल्ला उच्च जोखिममा देखिएका छन् । सरकारले प्रदेश २ र पाँचलाई रेड जोनमा राखेर कोरोना पहिचान तथा रोकथामलाई तिब्रता दिएको छ ।

यी हुन्, कोरोनाको रेड जोनमा रहेका प्रदेश र जिल्ला

बिहीबार विहानसम्म प्रदेश १ को उदयपुर, भोजपुर र झापामा गरेर संक्रमितको संख्या ३५ छ । उदयपुरमा सबैभन्दा बढी पहिचान भएका छन् । प्रदेश २ मा ९६ जनामा कोरोना पहिचान भएकोमा सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा रेड जोनमा परेका छन् । पर्सामा संक्रमित सबैभन्दा बढी छन् । बागमति प्रदेशमा काठमाडौं, भक्तपुर, धादिङ र चितवनमा १० संक्रमित पहिचान भएका छन् । नवलपुरमा एक संक्रमित थपिएसागै गण्डकी प्रदेशमा तीन जनामा कोरोना पहिचान भएको छ । २ जना बाग्लुङका छन् । प्रदेश पाँचमा ९४ जना संक्रमित पहिचान भएको छ । कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया र नवलपरासीमा कोरोना संक्रमित पहिचान हुँदा सबैभन्दा बढी जोखिममा कपिलवस्तु र बाँके देखिएका छन् । सुदुरपश्चिममा कैलाली र कञ्चनपुरमा गरेर संक्रमितको संख्या पाँच पुगेको छ ।

स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीमा समेत संक्रमण फैलिन थालेसँगै जोखिम थप बढ्ने आँकलन गरिदै गर्दा रेड जोनमा परेका व्यक्तिको संख्या नै ३ सय ५४ छ । संक्रमित र सम्भावित जोखिममा रहेर आइसोलेसनमा राखिएकाको संख्या बुधबार रातीसम्म काठमाडौंमा ६ र काठमाडौं बाहिर २ सय ३९ छ । प्रदेश १ मा २१ जना, प्रदेश नम्बर २ मा ९८ जना, बागमती प्रदेशमा २५ जना, र प्रदेश ५ मा १ सय १ जना आइसोलेसनमा छन् । यसले पनि सम्भावित जोखिम बढाउने देखाएको छ ।

उपचारपछि निको हुनेको संख्या ३५ पुगेपनि नेपाल भारत सीमाबाट स्वदेश भित्रिनेलाई रोक्न वा व्यवस्थित तरिकाले ल्याउन नसकेमा कोरोना महामारी भयाबह हुनेतर्फ सरुवारोग विशेषज्ञहरुले सरकारलाई चेतावनी दिदै आएका छन् । नेपाल भारत खुला सीमा क्षेत्रबाट रातको समयमा नेपालीहरु लुकिछिपी स्वदेश आउने क्रम जारी रहँदा र उनीहरु मध्ये केही तराईका विभिन्न जिल्ला तथा काठमाडौं उपत्यकामा प्रवेश गरेको एकिन तथ्यांक नहुँदा कोरोनाको जोखिम देशब्यापी बन्ने खतरा बढिरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्