Techie IT
Mission Khabar

लकडाउनका समयमा बढ्दै खाद्यान्नको आयात, कारण यस्तो


काठमाडौं । लकडाउन शुरू भएपछिका सात हप्तामा खाद्यान्नको आयात ह्वात्तै बढेको पाइएको छ । उद्योग मन्त्रालयले प्रकाशित गरेको एक प्रतिवेदनले खाद्यान्नको आयात पछिल्ला सात हप्तामा ह्वात्तै बढेको देखाएको हो ।

लकडाउनको सुरुवाती साता चैत ११ देखि १७ गतेसम्म १३ हजार ३ सय ४३ टन खाद्यान्नको आयात भएकोमा दोस्रो हप्तामा यो परिमाण बढेर १४ हजार ६ सय ४३ टन पुगेको तथ्यांक छ । पाँचौं हप्तामा ३१ हजार ४ सय ४१ टन पुगेको आयात छैटौं र सातौं हप्तामा केही घटेर क्रमशः २८ हजार ५ सय २६ टन र २५ हजार ८ सय ५ टन पुगेको छ । पहिलो हप्ताको तुलनामा सातौं हप्तामा खाद्यान्नको आयात ९३ दशमलव ४ प्रतिशत र दलहन गेडागुडीको आयात २६ दशमलव २ प्रतिशतले बढेको देखिन्छ । तरकारी र फलफूलको आयात क्रमशः २५ प्रतिशत र ६१ दशमलव ३ प्रतिशतले वृद्धि भएकोमा सोही अवधिमा दुग्धजन्य पदार्थको आयात ५१४ दशमलव ३ प्रतिशतले बढेको पाइएको छ ।

आपूर्ति विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी लकडाउनको समयमा आयात बढ्नु स्वभाविक भएको बताउँछन् । लकडाउनको समयमा आयातनिर्यात प्रभावित नहुनु र बजारमा रहेको सामानहरूको स्टक घट्दै जाँदा आयात बढ्नु स्वाभाविक हुने उनको धारणा छ । उपभोक्ताहरूले खाद्य संकट हुनसक्ने आंकलन गरेर आवश्यकभन्दा बढी स्टक राख्दा समेत आयात बढेको देखिन्छ । राहतका कार्यक्रमहरू पनि बढेकाले आयातको परिमाण बढेको व्यवसायीहरुकोको आँकलन छ ।

यस्तो छ, खाद्यान्न मौज्दातको अवस्था

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल १७ हजार ४ सय ८ टन चामल मौज्दात छ । कम्पनीले विपद्को समयमा चामलको मौज्दात घट्न नदिन हालै १० हजार टन चामल किन्न टेन्डर आह्वान गरिसकेको छ । ६ सय ८ क्वीन्टल फापर, ५ सय २८ क्वीन्टल कर्णालीको सिमी, १९ टन दाल र शून्य दशमलव ४९ लिटर घ्यू मौज्दात रहेको बताइएको छ ।

हालसम्म करीब ५ सय टन गहुँ किनेको कम्पनीले चालू आर्थिक वर्षका लागि बर्दियाको राजापुरमा १ हजार, कैलालीको टीकापुर र धनगढीमा १ हजार, भैरहवा र नेपालगञ्जबाट १ हजार टन गरी ३ हजार टन गहुँ किन्ने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनसँग करीब २२ सय ८५ टन चिनी र आयात प्रक्रियामा रहेको समेत जोड्दा १ लाख ३७ हजार ४ सय १८ टन नुन मौज्दातमा छ ।

निजीक्षेत्रका उद्योगीव्यापारीहरूसँग करीब १ लाख २ हजार ५ सय टन चामल, ९८ हजार ५४ टन धान मौज्दात छ । धनका कारण चामलको मौज्दात घटेपनि तत्काललाई समस्या नपर्ने व्यवसायीहरु बताउँछन् । दलहन वस्तुको मौज्दात १६ हजार ८१ टन, पाम आयल करीब ४ सय ८७ टन, पामोलिन आयल करीब १९ हजार टन, सोयाबिन तेल १६ हजार टन, सूर्यमुखी तेल ८ यस ४६ टन मौज्दात रहेकोमा ६ हजार ३ सय ४६ टन तेल आयातको क्रममा रहेको बताइएको छ ।

७० हजार ८ सय ६६ टन तेल कोलकोतामा मौज्दात रहेको नीजि क्षेत्रका उद्योगहरुसँग करीब ६३ हजार २ सय टन चिनी मौज्दात रहेको बताइएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्