Techie IT
Mission Khabar

कोरोनाको जोखिम र खानपान : स्वस्थ खानपानका लागि डब्लुएचओको पाँच टिप्स


काठमाडौं । व्यस्त जीवनशैलीका कारण विश्वका अधिकांश व्यक्तिहरु आफ्नो सरसफाईमा हल्का ध्यान दिएपनि खानपानमा बेमतलबी बनिरहेका छन् । आर्थिक उपार्जनमा मात्रै हरेक व्यक्ति केन्द्रित भैरहँदा पछिल्लो समय स्वास्थ्य, खानपान र स्वच्छताको सवाल सेलाउँदै गएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि धेरैको काम गर्ने, सरसफाइदेखि खानपानको तरिकामा परिवर्तन आइरहदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खानपानका लागि आवश्यक महत्वपूर्ण पाँच जरुरी टिप्स दिएर आम नागरिकलाई सचते बन्न आग्रह गरेको छ ।

यस्ता छन् डब्लुएचओले दिएका पाँच टिप्स

सधैंभरी स्वच्छ बन्नुहोस्
– खाना बनाउनुअघि वा बनाउँदैगर्दा हात धोइरहने ।
– भान्सा, चुलो र भाँडा राम्रोसँग सफा गरेर स्यानिटाइज्ड गर्ने ।
– दिसा पिसाब गरेपछि साबुन पानीले हात धुने ।

पाकेकोसँगै काचो खानेकुरा नराख्ने
– कुखुराको मासु, अण्डा, काँचो मासु र समुद्रका जीवजन्तुको मासुजस्ता खानेकुरा एकै ठाउँ नराख्ने ।
– कुनैपनि काँचो खानेकुरासँग पाकेको खानेकुरा नमिलाउने ।

राम्रोसँग पकाएका खानेकुरा मात्रै खाने
– विशेषगरी मासु, कुखुरा, अण्डा र समुद्री जीवको मासु राम्रोसँग पकाउने ।
– सुप र झोल पदार्थ उमाल्दा ७० डिग्री सेल्यिस तापक्रमसम्म पुर्याउने ।
– पाकेर सेलाएको खानेकुरा खाँदा राम्रोसँग तताउने ।

खानेकुरा राख्दा उचित तापक्रम मिलाएर राख्ने
– पाकेको खानेकुरा कोठाको सामान्य तापक्रममा दुईघण्टाभन्दा बढी नराख्ने ।
– तयार भएको र छिटै बिग्रिने खानेकुरा पाँच डिग्रीभन्दा कम तापक्रममा राख्ने ।
– फ्रिजमा खाना राख्दा लामो समयका लागि स्टोर नगर्ने ।
– जमेका चीजहरूलाई कोठामा सामान्य तापक्रममा पग्लिन नदिने ।

सफा पानी र स्वच्छ भोजनको प्रयोग
– स्वच्छ पानीको मात्रै प्रयोग गर्ने ।
– म्याद गुज्रिएका खानेकुरा नखाने ।
– ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्ने ।
– खानुअघि फलफूल तथा तरकारीलाई राम्रोसँग पखाल्ने
– सुरक्षितरुपमा तयार पारिएको खाना मात्रै खाने ।

यसकारण यी कुरामा सचेत बन्नुपर्छ

धेरैजसो सूक्ष्म जीवाणुले आफै रोग फैलाउँने नभएपनि हात, कपडा, भाँडा, काटिङ बोर्ड आधिका माध्यमबाट खानेकुरासँग यस्ता जीवको सम्पर्क हुँदा रोग फैलिने खतरा रहन्छ । यस्तै, काँचो खानेकुरा विशेषगरी मासु, अण्डा र समुद्री जनावरको मासुमा खतरानक सूक्ष्म जीव हुने भएकाले सँगै राख्दा पाकेको खानेकुरामा संक्रमण फैलिनसक्छ । अनुसन्धानले नै ७० डिग्रीसम्म खाना पकाउँदा सूक्ष्मजीवहरू पूर्णरुपमा नष्ट हुने देखाएकोले राम्रोसँग पकाएको खानेकुरा किटानुरहित हुन्छ ।

पकाएको खानेकुरामा कोठाको सामान्य तापक्रममा सूक्ष्मजीवको छिटै विकास हुने भएकाले पाँच डिग्रीभन्दा कम वा ६० डिग्रीभन्दा बढी तापक्रम सूक्ष्म जीवको विकास रोक्न उपयुक्त मानिन्छ । पानी र बरफमा केही सूक्ष्म जीव वा हानिकारक तत्वको जोखिम बढि हुने भएकाले खानपानमा समेत ध्यान दिन जरुरी छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्