Techie IT
Mission Khabar

सातै प्रदेशमा कोरोनाको महामारी, पछिल्लो पाँच दिनमै थपिए १ सय ५६ संक्रमित


काठमाडौं । सोमबार एकै दिन ८० जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । पछिल्लो पटक रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ र धादिङमा एक\एक जना कोरोना संक्रमितको पहिचान भएको हो ।

दैलेखमा संक्रमित पहिचान भएसँगै कोरोनाको महामारी कर्णाली प्रदेशमा समेत देखापरेको छ । साँझपख मात्रै ४७ जनामा कोरोना पहिचान भएको बाँकेको नरैनापुरमा सोमबार राति थप १२ जना थपिएका छन् । आइतबार क्वारेन्टाइनमा मृत्यु भएका युवक पनि नरैनापुरकै वासिन्दा हुन । सुनसरी र खोटाङमा समेत पहिलो पटक कोरोना संक्रमितको पहिचान भएको छ ।

प्रदेशगत हिसाबमा कोरोनाको अवस्था

प्रदेश नम्बर एक मोरङ, सुनसरी, झापा, उदयपुर, भोजपुर र खोटाङमा संक्रमित पहिचान । संक्रमितको संख्या -४३
प्रदेश नम्बर दुई पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीमा संक्रमित पहिचान । संक्रमित संख्या -१ सय ३३
बागमती प्रदेश काठमाडौं, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, चितवन र मकवानपुरमा संक्रमण पहिचान । संक्रमित संख्या -१९
गण्डकी प्रदेशका बागलुङ र नवलपुरमा संक्रमित पहिचा । संक्रमितको संख्या -३
प्रदेश नम्बर पाँचका कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया दाङ, गुल्मी र नवलपरासीमा संक्रमित पहिचान संक्रमितको संख्या -१ सय ७१
सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा संक्रमण । कोरोना संक्रमितको संख्या -५
कर्णाली प्रदेशको दैलेखमा एक व्यक्तिमा संक्रमण पुष्टी

सुनसरीका एक जना पुरुषमा संक्रमण देखिएसँगै तराईका २१ वटै जिल्लामा कोरोना संक्रमण देखापरेको छ । संक्रमितको स्थायी ठेगाना र हाल बसोबास भएको ठेगानाको अन्यौलले जोखिम थप बढाउनेतर्फ सचेत हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बसोबास र स्थायी ठेगाना एकिन गर्ने जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ ।

३४ जिल्लामा कोरोना संक्रमण

बाँकेमा ९३, पर्सामा ९१, कपिलवस्तुमा ४२, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौंमा ९, धनुषामा ८, कैलाली, बारा र दाङमा ४४, चितवन, महोत्तरी, सर्लाही, मोरङ र झापामा ३३ तथा बागलुङ, भक्तपुर,बर्दिया र धादिङमा २ २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर, सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धनकुटा, गुल्मी, खोटाङ, दैलेख र सुनसरीमा एकएक जनामा कोरोना संक्रमण पुष्टि ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको अवस्था गम्भिर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ । संक्रमित मध्ये ३६ जना उपचारपछि निको भएका छन् । फागुन मसान्तसम्म १ जनामात्रै संक्रमित पहिचान भएको नेपालमा चैत मसान्तसम्म १२ जनामा कोरोनाको संक्रमण पहिचान भएको छ । बैशाख मसान्तसम्म संक्रमितको संख्या दिनहु बढेर २ सय १९ पुगेकोमा, जेठ पाँच गतेसम्म १ सय ५६ जना थपिएर संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।

संक्रमित थप बढ्ने आँकलन गरिदैगर्दा सरकारको रोकथाम र उपचारको तयारी भने निक्कै भद्रगोल र सुस्त देखिएको छ । क्वारेन्टाइन बस्न लायक नभएर भाग्नेहरु बढ्दा रोग पहिचान भएर आइसोलेसनमा बस्नेहरु समेत तातो पानी नपाएको, खानपानमा समस्या, सौचालय र बस्न समस्या भएको गुनासो गरिरहेका छन् । कतिपय कोरोना अस्थायी अस्पतालमा बिरामी भरिदा विद्यालय र मदरसामा राखेर उपचार गर्नुपरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्