Techie IT
Mission Khabar

अग्रमोर्चामा खटिने २६ पेशाकर्मीमा कोरोना संक्रमण, थप महामारिको संकेत


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या हरेकदिन बढ्दैछ । कोरोना संक्रमितको उपचार र स्वाव संकलन गर्ने चिकित्सक वा स्वास्थ्यकर्मी हुन् या उनीहरुको सुरक्षाका लागि दिनरात पहरेदार गर्ने सुरक्षाकर्मी अनि हरपल जनताका लागि सुचना प्रवाह गर्ने सञ्चारकर्मी । कोरोना रोकथामका लागि सिंगो देश लकडाउन भएपनि कोरोनाको त्रासदीकाबीच यी पेशाकर्मीहरु निरन्तर अग्रमोर्चामा खटिएर काम गरिरहेका छन् ।

कोरोना महामारीसँगै स्वास्थ्यकर्मी अग्रपंक्तीमा रहेर बिरामीको उपचार गर्नेदेखि बिभिन्न क्वारेन्टाइनमा रहेका सर्वसाधारणको स्वाव संकलन गरिरहेका छन् । तर, तीनै अग्रपंक्तीमा रहेका पेशाकर्मीहरु नै यतिबेला कोरोना भाइरस संक्रमणको जोखिममा छन् ।

नौँ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

पहिलो पटक कपिलवस्तु जिल्ला अस्पतालकी एक स्टाफ नर्समा पहिचान भएको कोरोना संक्रमण बुधबारसम्म आइपुग्दा ९ जना स्वास्थ्यकर्मीमा विस्तार भएको छ । धनकुटा जिल्ला अस्पतालकी नर्सको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा अस्पतालमा कार्यरत थप तीनजना स्वास्थ्यकर्मी सहित सो जिल्लामा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या चार पुगेको छ । यसअघि वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक जना नर्स, वीरगञ्जका एक फर्मासिस्ट, कपिलवस्तु र रुपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गरेर फर्किएकी भक्तपुर निवासी एक नर्समा कोरोना संक्रमण पहिचा भएको छ । प्रदेश पाँचकै विभिन्न जिल्लामा कन्ट्याक्ट टे«सिङ गरेर फर्किएका ललितपुर बसोबास गर्ने टेकुका चिकित्सकमा समेत कोरोना संक्रमण पहिचान भएको छ ।

१२ जना सुरक्षाकर्मी कोरोनासँग जुध्दै

लकडाउन कार्यान्वयन गराउन होस् या कोरोना संक्रमित मात्रै होइन सिमा नाकाबाट भित्रीनेहरुको सुरक्षाका लागि दिनरात तैनाथ छन् सुरक्षाकर्मी । कोरोना भाइरसबाट आम नागरिकलाई बचाउन चोक तथा बजारमा निष्किएका सुरक्षाकर्मी एउटा माक्स र चस्माको भरमा खटिएका छन् । देशका बिभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा समेत तीनै सुरक्षाकर्मीको निगरानी छ । देशमा कोरोना संक्रमति बढ्दै जाँदा सुरक्षाकर्मीमा समेत संक्रमण पहिचान भैरहेको छ । काठमाडौंको महानगरिय प्रहरी बृत्त कालिमाटीका एक प्रहरी सहायक निरिक्षक र एक जवानमा कोरोना संक्रमण पहिचान भएसँगै मंगलबार रातिदेखि प्रहरी वृत्त भित्रका तीन प्रहरी युनिट पूरै सिल गरिएको छ । गत शनिबार पनि तीन जना सुरक्षाकर्मीमा कोरोना देखिएको थियो । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी जवान, नेपाली सेनाको मध्यपृतनामा कार्यरत सेनाका एक उच्च अधिकारी र सोही ठाउँमा कार्यरत अर्का एक सैनिकमा कोरोना पुष्टि भएको छ ।

बुधबारसम्म नेपाल प्रहरीका कपिलबस्तुमा २ काठमाडौंमा २ बारामा एक र धनकुटामा एक गरी ६ जनामा कोरोना पुष्टि भएकोमा बिहिबार बिहानमात्रै धनकुटाका एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।  सशस्त्र प्रहरी बलका तीन, नेपाली सेनाका दुई र राष्ट्रिय अनुसन्धान विभागका एक जना गरी ११ जना सुरक्षाकर्मीमा कोरोना पहिचान भएको छ । केही दिनअघि पूर्वगृहमन्त्री भीम रावलका पिएसओ सशस्त्रका जवान बिदाबाट फर्केपछि जाँच गराउँदा कोरोना पहिचान भएको थियो । सामूहिक रुपमा ब्यारेक सिस्टममा बस्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि कोरोनाको उच्च जोखिममा छन । अझ ब्यारेकमा एउटा व्यक्तिमा मात्रै कोरोना देखिएको अवस्थामा त्यसले भयावह रुप लिन सक्नेतर्फ सबै सुरक्षाकर्मी सचेत बन्नुपर्ने हुन्छ ।

पाँच सञ्चारकर्मीमा संक्रमण

लकडाउनको समयमा अत्याबश्यक काम बाहेक अन्य पेशाकर्मी र सर्वसाधारण घरभित्रै छन् । बिश्व घटना तथा नेपालका घटनाक्रम मात्रै होइनन कोरोना संक्रमितको जानकारी, खबरदारी र सचेतना फैलाउन सञ्चारकर्मी पनि अग्र मोर्चामा खटिइरहेका छन् । कोरोना प्रभावित क्षेत्रमा पुगेर समेत स्थलगत बस्तुस्थिति सहित पलपलको खबर दिने जिम्मेवारी बोकेका पाँच जना सञ्चारकर्मी कोरोना भाइरससँग जुधिरहेका छन् । अहिलेसम्म पर्साको बीरगञ्जमा २, धनुषामा एक, बारामा एक र उदयपुरका एक सञ्चारकर्मीमा कोरोना पुष्टि भएर उपचार भैरहेको छ ।

सबै घटनाक्रममा अग्रमोर्चामा खटिने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीमा समेत विस्तार भएको कोरोना भाइरसले थप जोखिमको आँकलन गराएको छ । कोरोना महामारीबाट बच्न सर्तकता अपनाइएपनि कोरोनाको कतिबेला कहाँबाट संक्रमण भित्रियो ? अहिलेसम्म एकिन नहुनुले सबैलाई स्वास्थ्य साबधानि सहितको सुरक्षा सतर्कता अपनाएर सतर्क हुन पाठ सिकाएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्