Techie IT
Mission Khabar

पाँच सैनिक कारबाहीमा, सैनिक अदलातले गर्यो भ्रष्टाचारी ठहर


काठमाडौं । नेपाली सेनाभित्र हुने भ्रष्टाचारजन्य कसुरमा कारबाही भएका घटना निकै कम छन् । सेनाको रासन खरिद देखि लत्ताकपडा, दुध, बिस्कुट लगायतका सबै खरिद प्रक्रिया बिवादित हुने गरेका छन् । यस्ता खरिद प्रक्रियामा सैनिक अधिकृतको नाम जोडिने गरेपनि कारबाही भोग्नुपर्ने अवस्था खासै आउँदैन र आएको पनि छैन । तर सैनिक अलातले पछिल्लो समय सबैलाई चकित पार्दै एउटा फैशला गरेको छ ।

सैनिक आवासीय मावि, भक्तपुरमा आर्थिक अनियमितता गरेको आरोपमा सैनिक अदालतले एक महासेनानीसहित ५ जना सैनिकहरुलाई भ्रष्टाचार र आर्थिक अपचलनको आरोपमा दोषी ठहर गर्दै कारबाही गरेको हो । सैनिक कल्याणकारी कोषबाट सञ्चालित उक्त विद्यालयमा ठूलो आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको समरी जनरल सैनिक अदालतले तीन सैनिक अधिकृत र अन्य दर्जाका दुई सैनिकलाई कारबाही सहित बिगो जरिवाना गरेको छ ।

महासेनानी भुपालमान अधिकारीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै एक करोड ८५ लाख ४० हजार १०८ रुपैयाँ बिगो असुल्ने निर्णयसँगै दुई वर्ष कैद गर्ने निर्णय भएको छ । अधिकारीलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने फैशलामा उल्लेख छ । प्रमुख सेनानी देवबहादुर क्षेत्रीमाथि दुई वर्ष बढुवा रोक्कासँगै चार लाख ४० हजार रुपैयाँ असुल्ने, हुद्दा यज्ञराज पोखरेलबाट तीन लाख ६० हजार असुल्ने अनि भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय आएको छ । अर्का हुद्दा गणेशबहादुर अधिकारीको दुई वर्ष तलब वृद्धि रोक्ने फैसलासँगै १० हजार असुल्ने सैनिक जनरल समरी अदालतको फैशला आएको छ । लेखाका सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई नसिहत दिने फैशला आएपनि आर्थिक अनियमितताको आरोपमा मुछिएका अन्य १३ जनालाई सफाई दिइएको छ ।

सैनिक आवासीय महाविद्यालयमा अनियमितता भएको उजुरीपछि छानबिनका लागि गठन भएको सहायक रथी नेतृत्वको कोर्ट अफ इन्क्वायरीको रायसहितको प्रतिवेदनका आधारमा यो फैशला आएको हो । योसँगै बर्खास्तीमा परेका सैनिक अधिकारीहरुमाथि गैरकानुनी सम्पत्तिआर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बाटो खुलेको छ । भ्रष्टाचारी ठहर भएका सैनिक अधिकारीहरुले उच्च अदालतका न्यायाधीशले नेतृत्व गर्ने सैनिक विशेष अदालतमा पुनरावेदनको मौका पाउनेछन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्