Techie IT
Mission Khabar

१३ देशमा १ सय १७ नेपालीको मृत्यु, साँढे १२ हजार बढीमा कोरोना संक्रमण


काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आइतबार विहानसम्म नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित हुँदा १ सय १७ जनाको ज्यान गएको हो ।

संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएको आँकडा छ । एनआरएनए स्वास्थ्य समितिका अनुसार यो हप्ता मात्रै युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जनाको ज्यान गएको छ । सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु हुँदा संयुक्त अरब इमिरेट्समा १८ जना, अमेरिकामा १६ जना र साउदी अरेबियामा ७ जनाको ज्यान गएको छ । नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको एनआरएनएको तथ्यांक छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको तथा ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको पाइएको छ ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरूको समूहले तयार पारेको आँकडाअनुसार १३ देशमा गैरआवासीय नेपालीहरूको ज्यान गएको छ भने बाँकी ३३ देशका नेपालीमा कोरोना भाइरस (कोभिड १९को संक्रमण पहिचान भएको छ । एनआरएनएका अनुसार अत्याधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर कम हुँदै जादा मध्यपूर्वका देशहरुमा बढ्दो क्रममा देखिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको राहत लगायतको सहयोगमा परिचालित गरिरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्