Techie IT
Mission Khabar

नेपालमा बढ्दै कोरोना, प्रधानमन्त्रीको चासो र चिन्तालाई ब्यवहारमा उतार्ने कस्ले अनि कहिले ?

के भारतबाट आउनेहरुकै कारण महामारी बढेको हो त ?


काठमाडौं । पछिल्लो समय नेपालमा दैनिक जसो कोरोना संक्रमित बढिरहेका छन् । जेठको पछिल्लो १३ दिनको तथ्यांकले नै कोरोना महामारीको संक्रमण दर अझै बढ्ने र यसले केही समय नेपालीहरुलाई दुःख दिने देखाएको छ । बढ्ने महामारीको आँकलन जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका जानकार मात्रै होइन्, स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गरिरहेका छन् ।

थप बढ्न सक्ने महामारीको जोखिमलाई आँकलन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि नै साबधानी अपनाउन सरकार र आम नागरिक गम्भिर नबन्ने हो भने कोरोना संक्रमणले भयोबह रुप लिनसक्छ भनेका थिए । तर न यो बीचमा सरकारले आफ्नो तर्फबाट कोरोना रोकथाममा सचेतना अपनायो त त नागरिक स्तरमै सचेतना पूर्वक काम कारबाही भए । सबैको असाबधानीले कोरोनाको संक्रमण बढेको स्विकार गर्दै प्रधानमन्त्रीले फेरी थप सतर्क हुन आम देशवासीलाई आह्वान गरेका छन् ।

हुन त, कोरोना संक्रमणका १२, १५ केस आउँदासम्म स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सरकारी स्वास्थ्य विज्ञहरुले नेपालमा एक सय भन्दा बढी कोरोना संक्रमित पुग्न दिन्नौँ, कसैले पनि कोरोनाका कारण ज्यान गुमाउनु पर्दैन भन्दै दाबी गरिरहे । तर पछिल्लो डेढ महिनाको कोरोना संक्रमणको ग्राफले यो दाबीलाई गलत साबित मात्रै गरेन, प्रधानमन्त्रीलाई समेत विज्ञ र मन्त्रीले झुक्याए । सरकारको कमजोर आँकलनले आज जनतामा जोखिम थप बढायो । जेठ महिनाको १३ दिनमा मात्रै ५ सय ३९ जना कोरोना संक्रमित पहिचान भएको नेपालमा दिनहुँ संक्रमितहरु बढिरहेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीमा समेत संक्रमण सर्दा समूदायस्तरमा महामारी फैलिने हो कि भन्नै त्रासदी पैदा भएको छ ।

फागुन ३ देखि चैत २९ गतेसम्म झण्डै २ महिनासम्म संक्रमितको संख्या दोहोरो अङ्कमा ननाघ्दा र मानवीय क्षतिबेगर बन्दाबन्दीको पालना भएकोमा विश्व स्वास्थ्य संगठनले अति जोखिमबाट नेपाललाई जोखिमको तहमा प्रगति भएको रुपमा अर्थ्यायो । तर, नयाँ बर्षको पहिलो हप्ता बितेसँगै महामारीको संक्रमण तिब्र गतिमा विस्तार भयो । संक्रमण तिब्र गतिमा बढ्दा जेठ १३ गतेसम्म ७ सय ७२ मा संक्रमण पुष्टि भैसकेको छ । अहिलेसम्म चार जनाले कोरोनाकै कारण ज्यान गुमाउनुपरेको छ ।

किन बढ्दैछ त नेपालमा कोरोना संक्रमणको महामारी ?

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतबाट स्वदेश फर्कने नेपालीहरूको बिनास्वास्थ्य परीक्षण सीमा पार गर्नुपर्ने अवस्थाप्रति राष्ट्रको नाममा सम्बोधन गर्दै आपत्ति जनाए । जनस्वास्थ्यविद डा.रविन्द्रनाथ पाण्डेयले नेपालमा कोरोना संक्रमणको दर उच्च देखिनुमा भारतबाट स्वदेश फर्किएका नेपालीहरु भएको बारम्बार बताइरहेका थिए । अहिले नै कोरोनाले महामारीको रुप लियो भन्न नमिल्ने दाबी गर्ने डा. पाण्डेयले करिब १५ दिन अघि नै भनेका थिए, भारतबाट आउनेहरुमा सिमित देखिएको कोरोना अपबाद बाहेक समूदाय स्तरमा सरेको नभएपनि भारतबाट आउनेलाई रोक्न वा व्यवस्थित तरिकाले ल्याउन नसक्ने हो भने नेपालका लागि ठूलो खतरा बन्नसक्छ । भारतबाट स्वदेश फर्किनेहरुमा पहिचान भैरहेको कोरोना तिब्र गतिमा समुदायस्तरमा फैलिने खतरा नेपालमा कायम रहेको कतिपय स्वास्थ्य क्षेत्रका विज्ञहरुले अहिले पनि दाबी गरिरहेका छन् ।

पछिल्लो समय बढेका संक्रमितमा मुस्किलले ५० संक्रमित मात्रै अरुबाट संक्रमण सरेका छन्, यसको श्रोत पनि तिनै पहिचान भएका संक्रमितहरु नै हुन् । तीब्र गतिमा कोरोना बिस्तार भएको भारतबाट आउनेहरु अधिकांशमा कोरोना पहिचान हुनु, सीमा क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन निर्माण गरेर आवश्यक जाँचपछि मात्रै गन्तब्यमा पुर्याउन नसक्नु, भीडभाड यात्रा, भीडभाड र भद्रगोल क्वारेन्टाइन, अस्तव्यस्त आइसोलेसन र बन्दाबन्दीमा भैरहेको ओहोरदोहोर नै नेपालमा कोरोना बढाउने कारक बनेका छन् । यो अब्यवस्थाले नेपालमा थप महामारी बढाउने हो कि भन्ने चिन्तामा आम नागरिक मात्रै होइन्, स्वयम प्रधानमन्त्री पनि देखिएका छन् ।

भारतमा पछिल्लो समय एकै दिन ६ हजार बढीको संख्यामा संक्रमित पहिचान भैरहेका छन् । तिब्र गतिमा फैलिएको संक्रमणले हरेक व्यक्ति एक अर्कालाई संक्रमितको नजरले हेर्नुपर्ने अवस्थामा छन् । तर त्यही भारतबाट स्वदेश फर्किनेहरुको भीड लागिरहेको छ नेपाल भारत सीमा क्षेत्रमा ।

विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुरुप घर फर्किनेहरूको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने भए पनि प्रोटोकलअनुरुप स्वास्थ्य परीक्षणबिना नै नेपालीहरू सीमा पार गरिरहेका छन् । स्वास्थ्य परीक्षण बिना भीडभाड गरेर स्वदेश फर्किनुपर्ने नेपालीहरुको बाध्यताले महामारीलाई समुदायस्तरमा फैल्याएको आँकलन सरकारसँगै यतिबेला आम नागरिकले गरिरहेका छन् । मुलुक बाहिर रहेका घर फर्कने चाहने नेपालीहरूको संख्या तिब्र भएपछि नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका गन्तव्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग प्रधानमन्त्री आफैले गम्भीर संवाद गरेर अप्ठ्यारोमा परेका नेपालीहरूलाई सहयोग गर्ने विषयमा निश्चिन्त पारेका छन् । तर ब्यवहारमा ठिक उल्टो भैरहेको छ ।

भारतबाट दैनिक दशौँ हजार नेपालीहरु स्वदेश फर्किरहेका छन् । अहिले पनि क्वारेन्टाइनमा ५५ हजार बढी रहेका छन् । क्वारेन्टाइनमा बस्नेहरु प्राय भारतबाट आएकाहरु नै बढी देखिदा पछिल्लो समय संक्रमण पहिचान हुनेहरु पनि प्राय भारतबाट आएकाहरु नै छन् । भारतबाट स्वदेश आउनेहरुको उद्धार र स्वदेश फिर्तालाई रोक्न वा व्यवस्थित गर्न नसक्ने हो भने नेपाल थप महामारीको चपेटामा पर्ने निश्चित छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्