Techie IT
Mission Khabar

बजेटमा उद्योगी व्यवसायीदेखी नेताहरुको प्रतिक्रिया, समर्थनसँगै आलोचना


काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथी राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । कृषी साना तथा मझौला उद्योगी व्यवसायीले भने आफूहरुको सुझाब समेटेर राम्रो बजेट आएपनि कार्यान्वयनमा चुनौती सामना गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

धागो उत्पादक संघ तथा बैङ्क तथा वित्तीय क्षेत्रका अध्यक्षहरूको संगठन नेपाल बैङ्कर्स परिसंघका अध्यक्ष समेत रहेका पवन गोल्यानले बजेटमा राम्रा कार्यक्रम समेटिएको प्रतिक्रिया दिएका छन् । यस्तै, उद्योगी व्यवसायी पशुपति मुरारका, नेपाल चेम्बर आफ कमर्शमा अध्यक्ष राजेशकाजी श्रेष्ठले नीजि क्षेत्रका सबै अपेक्षा बजेटले पुरा गर्न नसकेपनि संकटको बेला आएको बजेट आंशिक रुपमा सकारात्मक मान्नुपर्ने धारणा राखेका छन् ।

अर्थविद् डा. डिल्लीराज खनालले भने बजेटलाई परम्परावादी दस्तावेजको शंज्ञा दिएका छन् । आफू नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको केही सुझाव बजेटमा समेटिए पनि बजेट र कार्यक्रम आवश्यकताका आधारमा नआएको उनको दाबी छ । अर्थविद डा. चन्द्रमणि अधिकारीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट पुर्णरुपमा नभएपनि संकटको बेला आएकाले आंशिक रुपमा सकारात्मक मान्नुपर्ने बताए । कतिपय शिर्षकको खर्च कटौतीलाई उनले सकारात्मक मानेका छन् ।

यता, सरकारका काम कारबाहीमा खुलेर आलोचना गर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रगतिशील र जनपक्षीय भएको दाबी गरेका छन् । कोरोनाको महामारीकाबीच आएको बजेट सन्तुलित, जनतालाई राहत दिने खालको, समाजवाद उन्मुख भएको भन्दै अध्यक्ष प्रचण्डले खुसी व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असफलताको दस्तावेजका रुपमा अर्थ्याएको छ । बजेटले कोरोना संकटको बेला नयाँ भिजन दिन नसकेको, सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन ठोस रुपमा कार्यान्वयन नगरिएको आरोप लगाएको छ । यता, प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधिहरुले समेत संघीय सरकारको बजेटलाई आंशिक रुपमा सकारात्मक मान्दै आलोचनात्मक समर्थन जनाएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्