Techie IT
Mission Khabar

अबको १० दिनमा विदेशमा फसेकाहरुको उद्धार, यस्तो छ अनिवार्य पालना गर्नुपर्ने शर्तनामा


काठमाडौं । सरकारले तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेसँगै विदेशमा फसेका नेपालीहरुले स्वदेश फर्किने मौका पाउने भएका छन् । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उद्धारसम्बन्धी कार्ययोजनालाई अन्तिम रुप दिएसँगै विदेशमा अपठ्यारोमा परेका नागरिकको स्वदेश फर्किन पाउने भएका हुन् ।

विदेशमा रहेकाहरुको उद्धार र स्वदेश फिर्ताको व्यवस्थापनमा खटिने फोकल मन्त्री

-प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी
-प्रदेश २ मा श्रममन्त्री रामेश्वर रायलाई आवश्यक समन्वयको जिम्मेवारी
-वाग्मती प्रदेशमा आवश्यक समन्वय महिला वालवालिकामन्त्री पार्वत गुरुङले गर्ने
-गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले आवश्यक समन्वय गर्ने
-प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुनले आवश्यक समन्वय गर्ने
-कर्णालीमा वनमन्त्री शक्ति बस्नेतलाई समन्वयको जिम्मेवारी
-सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले आवश्यक संयोजन गर्ने

यसअघि नै जेठ १२ को मन्त्रिपरिषद बैठकले अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने नीतिगत निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार ककसलाई कुन चरणमा उद्धार गर्ने भन्ने कार्ययोजना तयार पारिएको छ । सरकारले तयार पारेको प्रारम्भिक सूची तयारलाई परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा रहेका दूताबासमार्फत अन्तिम रुप दिन बाँकी छ । अबको १० दिनमा सबै तयारी सकेर उद्धार तालनी गर्ने योजनामा सरकार रहेको छ । पहिलो चरणमा तेश्रो मुलुकबाट उद्धार गरिने सूचीमा ३० हजार जति समेटिएका छन् ।

पहिलो चरणमा आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका तर नेपाल फर्किन अनुमति पाएका, आफन्तको मृत्यु भएर काजकिरियाका लागि नेपाल आउनुपर्नेहरु र श्रम करार सकिएका तथा रोजगारी गुमाएकाहरु उद्दारको प्राथमिकतामा पर्नेछन् । यस्तै कोरोनाबाहेक गम्भीर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक, अध्ययन तथा तालिममा गएर अड्किएका सरकारी कर्मचारी, अध्ययन सकिएका विद्यार्थीहरु तथा कलेज बन्द भएर वा संक्रमणका कारण फर्किनुपर्ने अवस्थामा पुगेका विद्यार्थीहरु, पारिवारिक पुनर्मिलनका लागि गएका, पर्यटक तथा व्यापारिक भिसामा गएर अड्किएकाहरुले पनि स्वदेश फर्किन पाउने भएका छन् ।

साइप्रसलगायतका कोरोना महामारिको अवस्था केही सामान्य रहेका युरोपेली मुलुकबाट स्वदेश फर्किन नाम टिपाएकाहरुले पहिलो चरणमा फर्किन नपाउने भएका छन् । आप्रवासी नेपाली कामदारको बाहुल्यता रहेका खाडी मुलुकबाट भने नाम टिपाएका भन्दा थप व्यक्तिको उद्धार हुनसक्ने बताइएको छ ।

सक्नेले आफैं खर्च व्यहोर्ने, नसक्नेहरुको हकमा वैदेशिक रोजगार सम्बधी कोषमा रहेको रकम प्रयोग गर्ने योजना सहित उद्धारको काम अघि बढ्नेछ । भारतबाट आउनेहरुका लागि २० वटा नाकाबाट मात्रै प्रवेश अनुमति दिइनेछ ।

स्वदेश फर्किनेले अनिवार्य पुरा गर्नुपर्ने सर्तनामाहरु

– नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ (चौध) दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण गरेपछि घरमा पुगेर समेत थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने ।

– उडान खर्च, होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्ने, खर्चको विवरण पछि उपलब्ध गराइने ।

– स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोरोना सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सी.आर.) रिपोर्ट दूतावासमा पेश गर्नुपर्ने तथा साथमा समेत राख्नुपर्ने ।

– विदेशबाट आउनेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भरेर तापक्रम परिक्षण गर्दा ज्वरो १००.४ डिग्री फरेनहाइट भन्दा बढी भएमा आइसोलेसन कक्षा र अन्य होल्डिङ सेन्टरमा जानुपर्ने

– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्ने ।

– विमानस्थलमा अवतरण पश्चात प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा गरेपछि सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा पठाइने ।

– स्वदेश फर्किने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

 


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्