Techie IT
Mission Khabar

कोरोना सर्ने र सार्ने बहानामा तरकारी नष्ट, परनिर्भरतामा जनप्रतिनिधिकै साथ


काठमाडौं । एकजिल्लाबाट अर्को जिल्लामा तरकारी ल्याउन लैजाने रोकिएपछि केही स्थानका स्थानीय तहमा तरकारी उत्पादन गर्ने किसानहरु खुसी भएपनि यो निर्णयले अधिकांश किसानलाई निरास बनाएको छ । म्याग्दी पर्वत बागलुङ लगायतका केही पहाडी जिल्लामा भारतबाट आयातित तरकारी र अन्य जिल्लाको तरकारीमाथी प्रतिबन्ध लगाइदा स्थानीय किसान खुसी भएका छन् ।

यता, दुःख गरेर उब्जाएका तरकारी बिक्री हुन छाडेपछि चितवन, काभ्रे, कपिलवस्तु र रुपन्देहीका कृषकहरूले खेतबारीमै डोजर चलाएर तरकारी नष्ट गर्दा अर्घाखाँची र कास्की जिल्लामा भने स्थानीय तह र जिल्ला प्रशासनकै संलग्नतामा किसनले बजारसम्म पुर्याउने गरेको हरियो तरकारी तथा फलफूलहरू नष्ट गरिरहेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा कपिलवस्तुको बुद्धभूमिबाट बिक्रीको लागि लगिएको हरियो तरकारी बिक्रीमा रोक लगाउँदै नष्ट गरिएको छ भने कास्कीको पोखरा महानगरपालिका १५ का स्थानीयले समेत तरकारी र फलफूल नियन्त्रणमा लिएर नस्ट गरेका थिए ।

काभ्रे, चितवनलगायतका जिल्लाबाट बिक्रीका लागि लगिएको गोलभेडालगायतका तरकारी जनप्रतिनिधि, प्रहरी र स्थानीय खाल्डो खनेर पुरेपनि यतिबेला चौतर्फी बिरोध भैरहेको छ । कोरोना रोकथाम गर्ने सर्वपक्षीय बैठकको नाममा विभिन्न स्थानीय तहले छिमेकी जिल्लाबाट तरकारी तथा फलफूल भित्र्याउन रोक लगाउँदा किसानहरु मारमा परेका छन् ।यता, स्थानीय तहका जनप्रतिनिधिहरु भने तरकारी ओसार पसार गर्दा कोरोना जोखिम उच्च हुने भन्दै रोक लगाइएको तथा लुकिछिपि आउनेलाई नष्ट गरिएको दाबी गरिरहेका छन् ।

कृषि मन्त्रालयको आपत्ति

कोरोनालाई कारण देखाउँदै स्वदेशमा उत्पादित कृषि उपज नष्ट गर्ने स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूको कामलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आपत्ति प्रकट गरेको छ ।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले कृषि सामग्रीको उत्पादन तथा ओसारपसारमा कुनै खाले अवरोध नगर्न मन्त्रालयले पटकपटक आग्रह गरे पनि विभिन्न स्थानीय तहका जनप्रतिनिधिले अटेरी गरेको बताए । स्वदेशी कृषि उपज नष्ट गर्न लकडाउनको सुरुवातदेखि नै शृङ्खलाबद्ध हर्कत भएको भन्दै अब यस्ता गतिबिधि नगर्न नगराउने मन्त्रालयले पत्राचार नै गरेर सबैलाई सचेत समेत गराएको छ ।

तरकारी फलफूलमा कोरोनाको जोखिम कति ?

जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीय तहले कोरोना सर्ने भन्दै तरकारी र फलफूल नष्ट गर्ने अभियान चलाइरहँदा हामीले कोरोना सर्ने बैज्ञानिक तथ्यको खोजी गर्यौँ । तर अहिलेसम्मका कुनै पनि अध्ययन, अनुसन्धानले तरकारी र फलफूलबाट कोरोना गरेको खुलेको छैन ।

स्थानीय तह र जिल्ला प्रशासनको अज्ञानताका कारण यस्तो हर्कद भएको दाबी गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी बैद्यले पनि विश्वभर अहिलेसम्म तरकारी र फलफूल तथा खाद्यान्नका कारण कोरोना सरेको वा सर्न सक्ने कुनै वैज्ञानिक प्रमाण नभेटिएको बताइन् । बिक्री केन्द्रमा हुने भिडभाडले भने सार्ने जोखिम रहने देखिन्छ ।

भारतबाट निर्बाध आयात, स्वदेशी उत्पादनमा धरपकड

लकडाउनको समयमा पनि भारतलगायतका विभिन्न देशबाट तरकारी, फलफूल र खाद्यान्नको आयात भैरहेको छ । खाद्यवस्तु तथा तरकारीबाट कोरोना सर्ने वैज्ञानिक कारण नपाइएका कारण नै सरकारले आयात खुल्ला गरेको दाबी गरिदैगर्दा, नेपाली कृषी उत्पादनले बजार नपाएको भन्दै किसानहरु रोईकराई गरिरहेका छन् ।

कतिपय स्थानमा खेतबारीमै डोजर चल्दा समेत नेपाली कृषी उपजको बजारीकरण गरेर कृषकलाई राहत दिन सरकारले सकेको छैन । भन्सार विभागको तथ्यांकले लकडाउन भएको चैत ११ देखि जेठ ११ सम्मको तीन महिनामा मात्रै भारतबाट एक लाख ९९ हजार ७१ मेट्रिक टन खाद्यान्न, ७५ हजार तीन सय १५ मेट्रिक टन तरकारी, ५६ हजार ३ सय ५७ मेट्रिकटन गेडागुडी, २९ हजार एक सय १५ मेट्रिक टन फलफूल र ११ हजार २ सय ४३ मेट्रिकटन दुग्धजन्य पदार्थ आयात भएको देखाएको छ ।

लकडाउनको ४२ दिनमा मात्रै ४ अर्ब १२ करोड ५५ लाख रुपैयाँ बराबरको तरकारी भारतबाट आयात हुँदा नेपाली कृषक भने बजार नपाएको, बिक्रि बितरणमा समस्या भएको भन्दै हारगुहार गरिरहेका छन् । तर उनीहरुको गुनासो कसैले सुनेको छैन ।

के छ नेपालमा तरकारी उत्पादनको अवस्था ?

देशको २ लाख ५० हजार हेक्टर भन्दा बढी जमिनमा तरकारी खेती हुँदै आएको छ । देशको दुई तिहाई जनसंख्या कृषी पेसामा आबद्ध भएपनि पछिल्लो समय कृषी उपजको परनिर्भरता बढ्दो छ ।

सरकारी आँकडा अनुसार देशभर १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको छ । बाँझो जमिनलाई सदुपयोग गर्न सकेमात्रै पनि तरकारी तथा कृषी उपजको परनिर्भरता हट्ने आँकलन गदैगर्दा सदुपयोग गर्न भने सकिएको छैन ।


क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्