Techie IT
Mission Khabar

अमेरिकाका ७० शहरमा रंगभेदी आन्दोलन, सेना परिचालन गर्ने राष्ट्रपति ट्रम्पको धम्की


काठमाडौं/अमेरिका । कोरोना महामारीले थिलोथिलो भएको अमेरिका प्रहरीको यातनाले एक अश्वेत व्यक्तिको मृत्यु भएपछि जारी रहेको प्रदर्शनले थप सिथिल बनेको छ । गत सातादेखि अशान्त बनेको अमेरिकाले कर्फ्यू लगाउदा समेत प्रदर्शन रोक्न सकेको छैन ।

प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोप लगाउँदै मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक मात्रै बनेको छैन अमेरिकाका वासिङ्टन डिसीसहित २३ राज्यका ७० भन्दा बढीमा शहरमा विस्तार भएको छ । शहर क्षेत्रमा मात्रै नभएर अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्मै पुगेको छ । प्रदर्शनका क्रममा झडप, लुटपाट, तोडफोड र आक्रमणका घटना बढ्दा ह्वाइट हाउस क्षेत्रको सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

उच्च सुरक्षा तैनाथीसहित कर्फ्यू जारी गरिए आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोक्न सकिएको छैन । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी, मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी गर्दा समेत प्रदर्शन जारी छ । प्रहरीले ४१ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने सडकमा प्रदर्शनकारी घट्नुको साटो बढिरहेका छन् ।

मे २५ मा एउटा पसलमा एक व्यक्तिले नक्कली नोट दिएको भनी फोन आएपछि त्यहाँ पुगेका डेरेक शौभिन नामक ४४ वर्षीय सुरक्षाकर्मीले नक्कली नोट दिएको अभियोग खेप्ने ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेर हत्या गरेको आरोप लाग्दै आएको छ । यता, स्थिति थप भयाबह हुने आँकलन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालनको चेतावनी दिदै आएका छन् । हिंसात्मक प्रदर्शन अन्त्यका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने उल्लेख गर्दै सेना परिचालनको तयारी भैरहेको ह्वाइट हाउस श्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै आफूमा कानूनी राज्य स्थापना गर्ने जिम्मेवारी रहेको स्मरण गराएर शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेपनि झडप, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको विनाश बढिरहेको छ । फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकको परिक्षण रिपोर्टका आधारमा उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेपछि भएको अक्सिजन अभावबाट भएको देखाइएको छ । यसले रंगभेदी आन्दोलन थप भड्काएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्