Techie IT
Mission Khabar

कोरोना संक्रमण तिब्र भएसँगै स्वास्थ्य संकटकालको तयारी, के जोखिम बढेकै हो त ?


काठमाडौं । कोरोना संक्रमणको दर तिब्र बन्न थालेसँगै सरकारले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको तयारी थालेको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बसेको बैठकले २ हजार भन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएको भन्दै स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।

संक्रामक रोग ऐन २०२० अन्तर्गत हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै लागु हुनेछ । संक्रामक रोग ऐन २०२० को दफा २ मा देशभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरुको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने कानुनी व्यवस्था छ ।

दिनहुँ उच्च संख्यामा संक्रमित बढेसँगै यही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणको प्रस्ताव तयार पारेको मन्त्रालयका कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टम प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए । स्वास्थ्य संकटकाल देशभर वा संक्रमणको दर उच्च भएका क्षेत्रमा मात्रै लागु गरिने हो खुलाइएको छैन ।

स्थिति भयाबह भएकै हो त ?

विगतमा कोरोनाका कारण कसैले मनुपर्दैन भन्दै दाबी गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी र मन्त्री मात्रै होइन्, अहिलेको संक्रमण दरले प्रधानमन्त्री केपीशर्मा ओली समेत आत्तिएका छन् । कोरोना सम्बन्धि उच्चस्तरिय समितिले लकडाउन खुकुलो पारौँ, जोखिमका क्षेत्र निर्धारण गरौँ भन्दैगर्दा प्रधानमन्त्री मानिरहेका छैनन । संक्रमण धेरै बढेमा स्वास्थ्य सेवा प्रभावित हुने र चिकित्सक नै भाग्ने आँकलन प्रधानमन्त्रीको छ । हुन त, पछिल्लो समय सरकारी स्वास्थ्य विज्ञहरुले नै कोरोना अझै दुई महिना विस्तार हुँने घोषणा गर्दै सबै सचेत हुनुपर्ने भनिसकेका छन् ।

कतिपय स्वास्थ्य क्षेत्रका जानकार तथा जनस्वास्थ्यविद्हरु भने अहिले नै अवस्था भयाबह नभएपनि जोखिमलाई कमजोर आँकलन गरिएमा महामारी बढ्ने बताइरहेका छन् । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे विगतदेखी नै भारतमा बढिरहेको संक्रमण र भारतबाट नेपाल आउनेहरुलाई ब्यवस्थापन गर्न नसकिएमा देशको स्वास्थ्य अवस्था बिग्रिने चेतावनी दिइरहेका छन् । उनी त लकडाउन मात्रै अन्तिम सुरक्षा सावधानी नहुने भन्दै बजार पसल खुल्ने समयसिमा बढाएर सामाजिक दुरी कायम गराउने लगायतका सुरक्षा सावधानीको अभ्यास आम नागरिकमा गराउनुपर्ने बताउँछन् ।

पछिल्लो समय संक्रमित हुनेहरु पनि भारतबाट स्वादेश आएर क्वारेन्टाइनमा बसेकाहरु नै बढी छन् । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण सर्ने र पुष्टि हुने क्रम विस्तार हुँदा समुदायमा महामारी बढ्ने जोखिमको आँकलन गरिदैछ । गम्भिर प्रकृतिका बिरामी नभएकाले अहिले नै कोरोनाको महामारी भयाबह भयो भनिहाल्ने अवस्था छैन । तर भारतबाट स्वदेश आएर भद्रगोल तरिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई बेलैमा व्यवस्थित नगर्ने हो भने महामारी बढेर ठूलो जोखिम निम्तिनसक्ने खतरा कायमै छ ।

कतिपयले त सरकार कोरोना रोकथाम, पूर्वाधार व्यवस्थापनमै अलमल देखिदा स्थिति सामान्यबाट असामान्य बन्ने खतरा बढेको बताउँदै आएका छन् । स्वतन्त्र स्वास्थ्य विज्ञ लगायत नेपाली कांग्रेसले समेत सरकार नागरिकको ज्यू धनको रक्षामा गम्भिर बन्न नसकेको आरोप लगाउँदै आएका छन् ।

 


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्