Techie IT
Mission Khabar

कोरोना नियन्त्रण, उपचार र राहतमा १० अर्ब खर्च, बढ्दै संक्रमणको दर


काठमाडौं । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नेपालमा अहिलेसम्म करिब १० अर्ब रुपैया खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार यो खर्च कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारको बजेट मार्फत खर्च भएको छ । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड र प्रदेशहरुबाट १ अर्ब ८ करोड अनि स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको सरकारी रेकर्ड छ ।

अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण आउँदासम्म कोरोना रोकथाम तथा उपचारमा भएको खर्च थप बढ्ने देखिन्छ ।

कोरोना संक्रमणको अवस्था

बैशाखदेखी बढ्न थालेको कोरोना संक्रमण जेठ महिनामा थप तिब्र बनिरहेको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर तिब्र बनेको छ । पछिल्लो सातादेखी दिनहुँ २ सय हाराहारीमा संक्रमित बढिरहेका छन् ।

आइतबार मात्रै १ सय ६६ जना संक्रमित थपिएर कोरोना पहिचान भएकाहरुको संख्या १५ सय ६७ पुग्यो । सोमबार २ सय २६ जना संक्रमित थपिए । सोमबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको थियो । मंगलबार २ सय ८८ जना नयाँ संक्रमित थपिएकोमा बुधबार २०१ थपिएर संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार दोलखाका एक बृद्धको कोरोना संक्रमणकै कारण मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । अहिलेको अवस्था हेर्दा यो संख्याले अझै तिब्रता पाउने देखिन्छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना सर्ने क्रमले निरन्तरता पाउँदा समुदायस्तरमा महामारी बढ्ने आँकलन गरिदैछ । अहिलेसम्म संक्रमण पहिचान भएकाहरु भने भारतबाट स्वदेश फर्किएकाहरु नै बढी छन् । भारतबाट भैरहेको अस्तव्यस्त उद्धार र भद्रगोल क्वारेन्टाइनलाई व्यवस्थि तगर्न नसकेमा थप महामारी बढ्ने तर्फ स्वास्थ्य विज्ञहरुले सरकारलाई सचेत गराउँदै आएका छन्


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #breaking, #corona update

तपाईको कमेन्ट लेख्नुहोस्