Techie IT
Mission Khabar

थपिए ३ सय २३ संक्रमित, देशभर कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित हुनेमा काठमाडौंका ४, भक्तपुरका १, मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना रहेका छन् । यस्तै सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, धनुषाका ८, कपिलवस्तुका ३९, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३२ जना डिस्चार्ज भएका छन् । जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेतबाट ७ जना, डिस्चार्ज भएर घर फर्किएका हुन् । यसरी डिस्चार्ज हुनेको संख्या ३ सय ६५ पुगेको छ । शनिबारसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ र आइसोलेसनमा रहनेको संख्या २ हजार ८ सय ५७ पुगेको छ । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ३७ हजार ४ सय ३५ नमुना परीक्षण र पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ स्वाब परीक्षण गरिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार कैलालीको एक ५५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा मृत्यु भएको र डोल्पा जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको मृत्युपछि गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ । योसंँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्