Techie IT
Mission Khabar

मृत्युपछि कोरोना पुष्टिको श्रृङ्खला, नागरिकको जीवनसँग कहिलेसम्म खेलवाड ?


काठमाडौं । शनिबारसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । पहिलो मृतक थिइन्, सिन्धुपालचोक बाह्रबिसेकी सुत्केरी महिला । कोरोना संक्रमित सयभन्दा माथी जान दिन्नौँ र कसैले मृत्युवरण गर्न पर्दैन भन्ने सरकारी दाबीलाई चुनौती दिदै संक्रमित ३२ सयबाट उकालो लागेका छन्, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुग्दा १२ जनामा मृत्युपछि मात्रै कोरोना पुष्टि भएको छ ।

केहीको आरडीटी जाँचबाट कोरोना नेगेटिभ भन्दै घर पठाइएपछि त कोहीको क्वारेन्टाइनमै रहेका बेला निधन भएपछि संक्रमण पुष्टि भएको छ । कतिपयको दाहसंस्कार गरिसकेपछि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । प्राय सबैको मृत्युपछि कोरोना पुष्टि हुनुले सरकारको स्वास्थ्य सावधानीमा गम्भिर कमजोरी देखाएको छ ।

यो हेरौँ, ज्यान गुमाउने १३ जनाको कोरोना जाँच र मृत्युको अवस्था ।

१. डोल्पाका ५८ वर्षीय पुरुष

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भयो । दमका दिर्घरोगी रहेको उनी सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किए । आरडीटी जाँचमा रिपोर्ट नेगेटिभ आएका उनको जेठ २१ गते घरमै मृत्यु भएपछि २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको स्वाब परिक्षणको कोरोना रिपोर्ट पोजेटिभ आयो ।

२. धनगढीकी ५५ वर्षीया महिला

कैलालीको धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको डायलसिसका क्रममा मृत्यु भयो । जेठ २४ गते कोरोना पुष्टि गर्ने रिपोर्ट आयो तर उनको संक्रमण पुष्टि हुनुअघि नै स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो । यसअघि उनी नेपालगन्ज र काठमाडौंमा डायलसिस गराउँदै आएकी थिइन । आरडीटी नेगिटिभ आएकी महिलाको मृत्युपछि जाँच गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आयो ।

३. सर्खेतका २० वर्षीय युवा

सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना संक्रमणबाट मृत्यु भयो । कोरोना संक्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएका उनको पीसीआर परिक्षणको रिपोर्ट पोजेटिभ आयो ।

४. कपिलवस्तुका ३५ वर्षीया युवा

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा कपिलवस्तुको सीमा नजिकै बाटोमै मृत्यु भएका अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ का ३५ बर्षे युवामा मृत्युपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणले कोरोना संक्रमण पुष्टि भयो । आफन्तले लगेर युवाको शव अन्त्येष्टि गरिसकेपछि कोरोना पुष्टि भएको थियो ।

५. बाजुरामा दुई बर्षिय बालिकाको मृत्यु

बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो । सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको थियो । उनीको पनि मृत्युपछि कोरोना पोजेटिभ पुष्टि भएको हो ।

६.ललितपुरका ५७ वर्षीया पुरुष

ललितपुर महानगरपालिका वडा नम्बर २२ का ५७ बर्षीय पुरुषको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भयो । जेठ ११ गते अल्कोहलिक लिभर डिजिज भएको भन्दै पाटन अस्पताल लगिएका उनमा थप समस्या देखिएपछि आइसीयुको अभावमा किष्ट मेडिकल कलेज रिफर गरिएको थियो । ११ गते अस्पताल भर्ना भएका ती व्यक्तिको अस्पतालले १२ गते थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको रिपोर्ट पोजेटिभ आयो ।

७. दैलेखका ३५ वर्षीया युवा

दैलेखमा क्वारेन्टिनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा पनि मृत्युपछि कोरोना पुष्टि भयो । मृत्युको तीन दिनअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको स्वाव परीक्षणको रिपोर्टले कोरोना पुष्टि गरेको थियो । उनले भारतको गुजरातबाट फर्किएको १० दिनमा ज्यान गुमाए ।

८ . रुपन्देहीका ३४ वर्षीया युवा

रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया पुरुष कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भए । उनको मृत्युपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वाब परिक्षणको रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो । उनी चैत ८ गते दुबईबाट नेपाल आएका थिए ।

९. बाँकेका २५ वर्षीया युवक

बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा एक युवकको क्वारेन्टाइनमै मृत्यु भयो । मृत्यु अघि नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएका यी २५ वर्षीया युवाको मृत्युपछि कोरोना पुष्टि गर्ने रिपोर्ट आयो । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा पीसीआर प्रविधिमा गरिएको परीक्षणमा मृत्युपछि कोरोना पोजेटिभ रिपोर्ट आएक उनी भारतको मुम्बईबाट ३० वैशाखमा स्वदेश फर्केका थिए ।

१०.पाल्पाका ४५ वर्षीया पुरुष

पाल्पाको पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषमा मृत्यु भएको तीनदिन पछि कोरोना पुष्टि भयो । सास फेर्न गाह्रो हुने, पेट फुलिने, सुक्खा खोकी लाग्ने र खकारमा रगत समेत देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिदैगर्दा उनको निधन भएको थियो ।

११. गुल्मीका ४१ वर्षीया शिक्षक

गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलका प्रधानाध्यापकको रुपन्देही मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा निधन भयो । जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पतालमा भर्ना भएका उनको भने मृत्यु अघि नै कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । जेठ ८ गते मृत्यु भएका शिक्षकको परिवारले अहिलेपनि कोरोना पुष्टि भएपछि अस्पतालले उपचारमा ध्यान नदिएको बताउँदै आएका छन् ।

१२. बाराका ७५ वर्षीया बृद्ध

वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका एक वृद्धमा दाहसंस्कारपछि कोरोना पुष्टि भयो । २ जेठमा अस्पताल भर्ना भएका बारा कलैया—७ का ती ७५ वर्षीया वृद्ध क्षयरोगका बिरामी थिए । नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा शंकास्पद देखिएपछि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको रिपोर्ट आउन १२ दिन लाग्यो । अस्पतालबाट शब लगेर अन्त्येष्टी गरेको १० दिनपछि कोरोनाबाटै मृत्यु भएको एकिन भएको थियो ।
१३. सिन्धुपाल्चोकी सुत्केरी महिला

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको मृत्युपछि कोरोना पुष्टि भयो । नेपालमा कोरोनाले मृत्यु हुने उनी नै पहिलो हुन । शिक्षण अस्पतालमा बच्चा जन्माएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् ।

कोरोनाबाट १३ जनाले ज्यान गुमाउँदासम्म देखिएका परिदृश्यहरुले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भिर नभएको देखाएका छन् । अधिकांशको मृत्युपछि कोरोना पुष्टि, अझ क्वारेन्टाइनमा र आरडीटी रिपोर्ट नेगेटिभ भन्दै घर पठाइएकाहरुले बटोमै र घरमा ज्यान गुमाउनु परेको अवस्थाले सरकारको बेवास्ता प्रष्ट पारेका छन् । हुनत, विश्वभर नै कोरोना संक्रमण र मृत्युदर उच्च छ । तर ती देशहरुमा उपचार लगायतमा राज्यले अधिकतम कोशिस गर्दा ज्यान गुमाउनुपरेको छ भने यहाँ बेवास्ता गर्दा ।

क्वारेन्टाइनमा रहेका ब्यक्तीहरुको कोरोना परिक्षणमा ध्यान दिन नसकेको सरकार अझ कोरोना पुष्टि भएकाहरु संक्रमण मुक्त भएनभएको थप परिक्षण बिनै लक्षणको आधारमा छाड्न निर्देशन दिदैछ । विश्वासिलो नमानिने आरडीटी परिक्षणमा गरिएको जोडबल र पीसीआर जाँच बिर्दै डिस्चार्ज गर्ने सरकारी कदमको कतिपय जनस्वास्थ्यविद तथा सरुवा रोग विशेषज्ञहरुले नागरिकको जनस्वास्थ्यमाथी गम्भिर खेलवाड नगर्न सरकारलाई सचेत गराउँदै आएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्