Techie IT
Mission Khabar

लकडाउनमा ५० हजार मालबाहक सवारी साधन नेपाल भित्रिए, दैनिक वैदेशिक व्यापार ३ अर्ब


काठमाडौं । लकडाउन केही खुकुलो र बजार चलायमान हुँन थालेसँगै सामान्य अवस्थाको ६० प्रतिशत वैदेशिक व्यापार हुन थालेको छ । भन्सार विभागका अनुसार लकडाउनको पहिलो हप्ता दैनिक ५०/६० करोड रूपैयाँको हाराहारीमा रहेको वैदेशिक व्यापार अहिले बढेर ३ अर्ब रूपैयाँ पुगेको हो ।

आन्तरिक बजारमा चहलपहल सुरु हुँदा भन्सार नाका समेत चलाएमान भएका छन् । लकडाउन सुरु भएयता मुलुकका प्रमुख ७ भन्सार हुँदै ५० हजार मालबाहक सवारी साधन नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ । यी सवारी साधन चैत ११ गतेदेखि जेठ २५ गतेसम्ममा नेपाल भित्रिएका हुन् । यो अवधिमा सबैभन्दा धेरै वीरगञ्ज हुँदै १८ हजार ६ सय ८६ सवारी साधन, भैरहवाबाट १२ हजार ३ सय २९, विराटनगरबाट ९ हजार ५ सय १७, नेपालगञ्जबाट ४ हजार ४३, कृष्णनगरबाट ३ हजार ३ सय २८, मेचीबाट १ हजार ८ सय ८२ र जलेश्वरबाट ६ सय ५८ वटा मालबाहक सवारी साधन नेपाल आएको भन्सारको रेकर्ड छ ।

सरकारले लकडाउन घोषणा गर्दा नै यात्रु आवागमन बन्द गरे पनि वस्तु ढुवानीमा कुनै अवरोध नहुने जनाएको थियो। लकडाउन घोषणा भएको सुरुका दिनमा सवारी साधन आवागमन कम भए पनि पछिल्ला दिनमा सामान्य अवस्थाको ६० प्रतिशतको हाराहारीमा सवारी साधन आइरहेको विभागले जनाएको छ। भन्सार विभागका महानिर्देशक सुमन दाहाल सामान्य अवस्थामा दैनिक ५ अर्बको वैदेशिक व्यापार हुने गरेकोमा अहिले त्यसको ६० प्रतिशत वैदेशिक व्यापार भैरहेको बताउँछन् । वस्तु व्यापार वृद्धि हुन थालेसँगै राजस्व संकलन पनि बढ्न थालेको देखिन्छ । सुरुका दिनमा दैनिक २० करोड रूपैयाँसम्म राजस्व संकलन हुने गरेकोमा अहिले बढेर ६० करोड हाराहारी पुगेको छ । वैदिशक व्यापारको सहजताले आन्तरिक बजारमा समेत वस्तु ओसारपसार बढेको छ ।

राजस्व अनुसन्धान विभागबाट सञ्चालन हुने भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा सवारी साधन प्रविष्ट गराउनेको संख्या पनि पछिल्लो समय बढ्दो क्रममा छ । सुरुमा अत्यावश्यक वस्तु मात्रै ओसारपसार हुने गरेकोमा अहिले अन्य सवारी साधन चल्दा बजार चलायमान जस्तो देखिएको छ । वस्तु ओसारपसार गर्दा विवरण प्रविष्ट गराउनुपर्ने भिसिटिएस प्रणाली मार्फत राजस्व अनुसन्धान विभागले बजारको निगरानी गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्