Techie IT
Mission Khabar

देशव्यापी बन्दै सरकार बिरोधी प्रदर्शन, उद्देश्य थाहा नहुँदै द्धन्द्ध भड्किने खतरा


काठमाडौं ।कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको तथा खर्च पारदर्शी नभएको भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । 
काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन् । उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, पोखरा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा, जनकपुर, विराटनगर लगायतका सहरमा पनि युवा, अभियन्ता तथा व्यवसायीहरुले स्वस्फूत रुपमा प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।
केही दिनयता युवा तथा अभियान्ताहरूले पिसिआरको दायर बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, खर्च विवरण पारदर्शी हुनुपर्ने लगायतमा माग राख्दै प्रदर्शन जारी राखेका हुन् । एक जना अभियन्ताले सामाजिक सञ्जालबाट ग्रुप बनाएर आह्वान गरेको आन्दोलनमा अहिले लाखौँ जोडिएका छन भने आन्दोलनमा लाग्ने नाराहरुले द्धन्द्ध भड्किने संकेत गरिरहेको छ ।
प्रदर्शन दबाउन सरकारको निर्देशन
यता, सरकारले लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६ सयदेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिदै प्रदर्शन रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । प्रहरी प्रशासनले समेत प्रदर्शन नियन्त्रणका लागि हरप्रयास गरिरहेको छ । कतिपय स्थानमा प्रदर्शनलाई नियन्त्रणमा लिन टियर ग्यास हान्नेदेखी पानीको फोहोरा हान्नेसम्मका काम भैरहेका छन् । प्रदर्शनकारीमाथी नै शंका कतिपयले प्रदर्शनकारीले तत्काल जायज देखिने जस्तो माग र मुद्धा उठान गरेपनि पर्दा पछाडी अर्कै खेल भएको दाबी गरिरहेका छन् ।
सरकार बिरोधी प्रदर्शनमा लिपुलेक कालापानी लगायत अतिक्रमित भूभागको बारे कुनै आवाज उठेको छैन । राष्ट्रवादी जस्तो देखाइएको प्रदर्शन संविधान संशोधन गरेर नयाँ नक्सालाई अध्यावधिक गर्नुपर्ने दिनमा थप विस्तार गर्न खोजिनुले पनि भित्रि स्वार्थ केही छ कि भनेर आँकलन गर्ने ठाउँ दिएको छ । प्रदर्शनमा उत्रिने युवा जमातले कुनै पार्टी बिशेषको झण्डा बोकेका छैनन । नारा पनि राजनीतिक लागेको छैन । तर कतिपय ठाउँमा एमसीसी र हिन्दु राष्ट्रका कुरा उठ्दा सरकारी पक्षले प्रयोजित प्रदर्शनका रुपमा अर्थ्याइरहेको छ ।
सीसीएमसीको गम्भिर ध्यानाकर्षण
देशका मुख्य सहरहरुमा सरकारविरोधी प्रदर्शनले निरन्तरता पाएसँगै कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिम रहेकोप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेको छ । समितिका संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न मागसहित भइरहेको सडक आन्दोलनप्रति गम्भीर  ध्यानाकर्षण भएको जनाउँदै संवेदनशील हुन आग्रह गरेका हुन् । मन्त्री पोखरेलले पीसीआर परीक्षणको दायरा बढाउँदै लगिएको उल्लेख गर्दै सरकारले गरेको कोरोना रोकथाम खर्चको समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने बताएका छन् ।
सामाजिक सञ्जालबाट त्यो पनि एकजना अभियन्ताले करिब १ महिनामा डेढ लाख बढीलाई संगठित गर्नु र एकै पटक सडकमा प्रदर्शन सुरु हुनुको पछाडी कुनै स्वार्थ समुहको खेल त छैन भन्नेहरुको जमात पनि बढिरहेको छ । कसैले पनि जिम्मेवारी नलिई स्वतस्फूर्त उठेको आन्दोलनमा युवायुवतीले बोकेका प्लेकार्ड र त्यसमा उल्लेखित नाराहरुले पनि अचम्बित बनाएका छन् ।
नाराहरु गैरराजनीतिक प्रकारका र कतिपय ‘स्लाङ्ग वर्ड’ (अपशब्द) समेत प्रयोग भएका छन् । सेक्स इज गुड, बट गभर्मेन्ट रेपिङ अस इज नट गुड, स्टप करप्सन, बरु … हान, तर देश बनाउने धाक नहान, के पाइस् नेपाली ? केरा ! यस्ता भल्गर प्ले कार्डहरु धेरै छन् । आन्दोलनकारी अधिकांश कलिला युवायुवती भएकाले केही भल्गर नाराहरु देखिएपनि भ्रष्टाचारको विरोध र पीसीआर टेस्टलाई बढाउनुपर्ने मागहरु जयज नै छन् ।
नेकपा राजनीतिक बिश्लेषण
सत्तापक्षका नेता, कार्यकर्ताहरु यो प्रदर्शनबाट सामाजिक दूरी कायम नभएको र यसबाट कोरोना महामारी फैलिने जोखिम बढेको बताइरहेका छन् । उनीहरुको आँकलन कसैले उचालेर जुलुस निकालिएको, संविधान संशोधन हुनै लागेका बेला भएको हुल हुज्जतमा भारतीय रअले चलखेल हुनसक्छ । विवेकशील पार्टी, कांग्रस नेता गगन थापा लगायतले युवाहरुलाई उत्तेजक बनाएर उचालेको हो भन्ने छ । खान पुग्नेहरु धनीमानीहरुको जुलुस, डलरको खेती गरिएको भनिदैगर्दा भीडभाडलाई विश्लेषण गर्न भन्दा नियन्त्रण कसरी गर्नेमा मात्रै प्रहरी केन्द्रित देखिएको छ ।
कांग्रेस र अन्य दलको विश्लेषण
विपक्षी पार्टीका नेता कार्यकर्ताहरु यो प्रदर्शनलाई कसैले उचालेको नभई स्वतस्फूर्तरुपमा प्रकट भएको सरकारप्रतिको जनअसन्तुष्टि भनिरहेका छन् । सरकारकै कमजोरीका कारण जनता आजित भएर स्वस्फूर्त सडकमा आएको भनिदैछ । राजनीतिमा खासै चासो नभएका देशैभरिका युवाहरु यसरी सडकमा आए भन्ने विषयमा गम्भीर रुपमा लिन र उनीहरुमाथि दमन नगर्न साझा पार्टी लगायतका दलले विज्ञप्ति जारी गरेपनि आन्दोलनमा समर्थन जनाएर शंका गर्ने ठाउँ दिएका छन् । यो आन्दोलन सरकारप्रतिको असन्तुष्टिले स्वस्फूर्त रुपमा उठेपनि सरकार बिरोधी भीडलाई दुरुपयोग गर्नेहरु सक्रिय हुने जोखिम कायमै छ ।
यसरी भयो प्रदर्शनको सुरुवात
सुरुमा केही सीमित युवाहरुले  (Covid-19 Nepal: Enough Is Enough!) नामक एउटा फेसबुक समूह बनाउँछन् । सरकारले पीसीआर टेस्ट गरेन, भ्रष्टाचार भयो, यो त अति नै भयो भन्दै उनीहरुले सामाजिक सञ्जालमा थालेको भर्चुअल लबिङ बालुवाटारमा प्रदर्शन नै गर्ने निष्कर्षमा पुग्छ । र, प्रदर्शन पनि हुन्छ ।
अचम्मको कुरा छोटो समयमै यो गु्रपमा १ लाख ५५ हजार बढी जोडिएका छन् । काठमाडौं बाहिर समेत प्रदर्शन विस्तार हुँदा यहाँ १ लाख ६३ हजार बढी सदस्य पुगेका छन् । पछिल्लो केही दिनमा मात्रै यो ग्रुपमा १० हजार भन्दा बढी सदस्य थपिएका छन् । सुरुमा यो अभियानमा जोडिएका विवेकशील पार्टीका केही युवाहरु समेत अहिलेको अभियान देखेर आफै आत्तिएका छन् ।
प्रदर्शन बिरोधी जनमत समेत बढ्दै
यो प्रदर्शन कसरी देशभरि आगोको ज्वालाजसरी फैलियो भन्नेमा अभियन्ता, सरकारसँगै प्रहरी समेत अनविज्ञ छ । अझ, यो गु्रपमा राखिएको आन्दोलनको सूची असार १ सम्म पुग्दा संविधान संशोधन गरेर नयाँ नक्सालाई निसान छापमा अध्यावधिक गरिने दिन शनिबार समेत माइतीघर मण्डलामा ‘बृहत’ प्रदर्शन गर्ने भनिएसँगै अनेक षड्यन्त्रको आँकलन गर्न थालिएको छ । यो प्रदर्शनबाट कोरोना महामारी बढ्ने जोखिमको आँकलन समेत गरिदैगर्दा आन्दोलन चर्कियो र प्रहरीबाट दमन भएर क्षति हुन पुग्यो भने कसले जिम्मा लिने भन्ने नै अन्यौल छ ।
सरकारले गाली गरेर, तर्साएर र पानीको फोहोरो मात्रै हानेर यो आक्रोश साम्य हुने देखिदैन । प्रदर्शनको उद्देश्य पहिचान गर्दै यसलाई व्यवस्थित तरिकाले समाधान गर्नेतर्फ सरकार गम्भिर बन्नुपर्छ ।

क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्