Techie IT
Mission Khabar

रुकुम पश्चिमको त्यो विभत्स घटना, उपचार नपाउनेहरुको हारगुहार


काठमाडौं रुकुमपश्चिम । जेठ १० गते बेलुका रुकुमपश्चिम चौरजहारी ८ सोती गाउँमा ६ जनाको बिभत्स हत्या भएको घटनामा परि घाइते भएकाहरु उपचार नपाएर छट्पटाई रहेका छन् । सुरुमा केहीले सामान्य उपचार गराएर घर फर्किएपनि टाउको अनुहार र छातीमा गहिरो चोट लागेका घाइतेहरुले उपचार नपाएको गुनासो गरेका हुन् ।

रुकुमपश्चिमको सोती काण्डमा १२ जना घाइते भएका थिए । कतिपय घाइतेहरु आर्थिक अवस्था कमजोर भएकाले थप उपचार नपाउँदा घाउ बल्झिएको बताउँछन् । स्थानीयले आक्रमण गर्दा भागेर ज्यान बचाएका इन्द्रजंग शाह शरिरभरिको चोट देखाउदैं कसैले वास्ता नगरेको गुनासो गरिरहेका छन् । अर्का घाइते सुदीप खड्काको अवस्था पनि उस्तै छ । तीन सातासम्म उनी उपचार नपाएको घाउ बोकेर बसिरहेका छन् । भाग्ने क्रममा हसियाले हानेर लागेको घाउ बल्झिन थालेपनि सोती घटनाको तीन साता पुग्दा पनि घाइतेको उपचारमा कसैले ध्यान दिएको छैन् । उपचारको सिफारिस तथा समन्वय गर्ने निकाय समेत एक अर्कोलाई दोष देखाउँदै पन्छि रहेको छ । शरीरमा चोट भएका घाइते उपचारको पर्खाईमा रहेपनि प्रमुख जिल्ला अधिकारी जनकराज पन्त अहिले यो विषयमा बोल्न नमिल्ने भन्दै जनताको जीउ धनको रक्षाको जिम्मेवारीबाट भाग्दै आएका छन् । यता, जाजरकोट प्रशासन रुकुमपश्चिको प्रशासनलाई सोध्न भन्दै जवाफ दिनबाट टार्दै आएको छ ।

जाजरकोट भेरी नगरपालिका ४ का नवराज बिकसहित १९ जना रुकुमपश्चिम चौरजहारी ८ सोती गाउँमा मल्लथरकी केटीलाई लिन पुग्दा वडाध्यक्ष डम्बर मल्लसहित स्थानीयको आक्रमणमा परेका थिए । घटनामा नवराज विक, लोकेन्द्र सुनार, सन्दीप विक, गोविन्द शाही, टीकाराम सुनार र गणेश बुढामगरको ज्यान गएको थियो । अधिकांश घाइते छन् । गृहमन्त्रालयद्धारा गठित छानविन समितिले समेत घटनालाई नियोजित हत्याकाण्डका रुपमा लिदैगर्दा स्थानीय स्तरमा सांसद देवेन्द्र पौडेलको नेतृत्वमा ९ सदस्यीय संसदीय छानविन समितिले काम थालेको छ । राष्ट्रिय मानव अधिकारको टोली लगायत अन्य धेरै संघ संस्था पनि जाजरकोट रुकुम घटना अनुसन्धान गर्ने भन्दै पुगे । तर, घाइतेको उपचारमा कसैले ध्यान दिएनन् ।

सोती घटनामा ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगायतको अभियोगमा जिल्ला अदालत रुकुमपश्चिममा मुद्दा दायर भएको छ । सामूहिक हत्या भएको निष्कर्ष सहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपनि फैशला कस्तो आउँछ सबैको प्रतिक्षा यसैमा छ ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्