Techie IT
Mission Khabar

यूएईबाट हुने उद्धार उडान रद्द, खान–बस्न समस्या भो भन्दै दूतावास पुगे पीडित


काठमाडौं\युएई । यूएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्द गरिएको छ । नेपाली दूतावास आबुधाबीले सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।

नेपाल एयरलाइन्समार्फत यूएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएपनि दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन गर्नुपरेको जनाइएको छ । उडान रद्द गरिएकोबारेको सूचना आइतबार दूतावासको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेपनि हटाएर सोमबार अर्को सूचना जारी गरेको थियो ।

नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने भनेपनि दूतावासले अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन ।

दूतावासमा पीडितको आक्रोस्
तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरू स्वदेश फर्काइदिन माग गर्दै अबुधाबीस्थित दूतावाससम्म पुगेका छन् । सोमबार दूतावासमा आफ्ना समस्या राख्न पुगेका नेपालीले आफूहरुलाई खान–बस्न समस्या भएको भन्दै छिटो स्वदेश फर्काइदिन माग गरे ।

श्रम गर्न आएका आफूहरुको उद्धार सरकारले गर्नुपर्ने भनेसँगै दूतावासका कर्मचारीहरूले उद्धार गर्ने काम आफूहरूको नरहेको भन्दै रुखो जवाफ फर्काएपछि पीडित थप आक्रोशित बनेका थिए ।


क्याटेगोरी : ओझेलका पात्र, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्