Techie IT
Mission Khabar

कोरोना रोकथाममा सरकारको चासो, गफ बढी काममा सुस्तता


काठमाडौं । सरकारले देशैभरीका क्वारेन्टाइन सुधार, अनुमगन र निरीक्षणका साथै २ सातामै कोरोना परिक्षण सकाउने गरि कोरोना रोकथामको काम अघि बढाउने निर्णय गरेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले देशैभरी क्वारेन्टाइन सुधार गर्ने र यसको अनुमगन र निरीक्षण प्रदेश सरकारले गर्ने, क्वारेन्टाइनमा बसेको दुई हप्तामा सबैको परीक्षण सकाउने व्यवस्था गर्ने, थप आइसोलेसनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने र प्रयोगशाला क्षमता बढाउने निर्णय गरेको हो ।

सरकारले आइसोलेसन निर्माणका लागि प्रदेशमार्फत पालिकाहरुलाई ३५ करोड विनियोजन समेत गरेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै देशका विभिन्न भागमा संक्रमितको संख्या पनि बढिरहेको भन्दै सबैलाई सचेत र जिम्मेवार बन्न पनि आग्रह गरेको छ । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन, अनिवार्यरुपमा मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सरकारले सबै नागरिकसँग अनुरोध गरेको छ ।

यात्रु ओसारपसार रोक्न राति हिडडुलमा रोक
यातायात व्यवसायी र प्रहरीको मिलेमतोमा भैरहेको यात्रु ओसारपसार रोक्न भन्दै सरकारले रातीको समयमा हुने हिडडुल रोक्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । राति फिल्डमा खटिएका सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि र काठमाडौंबाटै यातायात व्यवसायी र प्रहरीको मिलेमतोमा यात्रु ओसार पसार भएको गुनासो आएपछि सुरक्षा जाँचमा थप कडाई गर्न सरकारले निर्देशन दिइएको छ ।

सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्