Techie IT
Mission Khabar

बढाइयो पीसीआर परिक्षणको दायरा, यी जिल्लामा थपिए ३३१ कोरोना संक्रमित

मुस्ताङ सहित ७५ जिल्लामा कोरोना विस्तार


काठमाडौं । प्रयोगशालामा स्वाबको नमुना र क्वारेन्टाइनमा कोरोना जाँचको प्रतिक्षामा बस्नेहरुको संख्या धेरै भएपछि पीसीआर परिक्षणको दायरा बढाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ७ हजार ४ सय १६ नमुना परीक्षण सम्पन्न भएको छ ।

यो परिक्षणबाट ३ सय ३१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु हुँदा १५७८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १७६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित

डोटीमा सबैभन्दा धेरै ६१ ज्ना, पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४, डडेलुधराका १२, सर्लाहीका ९ जना, मोरङ, प्युठान र धादिङका ८८, भक्तपुर, रौतहट र बर्दियाका ७ ७ जना, दाङ र बाराका ४ ४ जना, रामेछापका ३, सुनसरी र कैलालीका २ २ जना, काठमाडौं झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका १ १ जनामा कोरोना संक्रमण पुष्टि ।

भक्तपुरमा संक्रमण पुष्टि भएको ७ महिला कुवेतबाट आएर खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरु हुन भने काठमाडौंमा संक्रमण भएकी महिला बारे मन्त्रालयले केही खुलाएको छैन ।

कोरोना परीक्षणको अवस्था

शनिबारसम्म १ लाख ६९ हजार १ सय ६५ पीसीआर टेष्ट हुँदा २ लाख ५२ हजार ३०० आरडीटी जाँच सम्पन्न भएको छ । शनिबारसम्म देशभरका क्वारेन्टिनमा १ लाख २ हजार २४५ जना रहेका छन् । शनिबार साँझ मुस्ताङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म देशका ७७ जिल्ला मध्ये ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म देशका २४ वटा प्रयोगशालाबाट कोरोना जाँच भइरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्