Techie IT
Mission Khabar

शक्ति र पहुँचको दुरुपयोग गर्दै काठमाडौं भित्रिनेहरु बढ्दै, जनतामा कोरोनाको कहर

गफमा मात्रै बढेको पीसीआर जाँचको दायरा


काठमाडौं । कोरोना संक्रमित बढिरहेका क्षेत्रबाट काठमाडौं उपत्यकाका नागढुङडा, फर्पिङ लगायतका नाका हुदै दैनिक ३ हजार देखि ३५ सयको हाराहारिमा मानिस भित्रिने गरेको पाइएको छ । सुरक्षा जाँचमा भैरहेको कमजोरीलाई फाईदा उठाउँदै कतिपय सरकारी गाडीहरुमै आफन्त नातागोता भन्दै ओसारपसारको काम भैरहेको छ ।

सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने गाडीहरु चिनेजानेका मानिस ओसार्न दुरुपयोग भएको बारे न ट्राफिक प्रहरीले चासो लिएको छ, न त अन्य सरकारी निकायले नै । यसरी आफन्त ओसार्न दुरुपयोग हुने गाडीहरुमा स्थानीय तह, विद्युत र सामान्य प्रशासन, शहरी विकासका बढी पाइएका छन् । कतिपय प्रहरीकै गाडीमा समेत जोखिमको ख्याल नगरी यात्रुहरु ओसार्ने काम भइरहेको भन्दै उपत्यकावासीले चिन्ता व्यक्त गरेका छन् । अझ, तरकारी खाद्यान्नका गाडीमा समेत दिइएको सवारी चलाउने छुटको दुरुपयोग गर्दै सर्वसाधारण ओसार्ने काम भइरहेको नाकामा खटिने ट्राफिक प्रहरीले देखेको नदेखे झै गरिरहेका छन् । शक्ति र पँहुचको दुरुपयोग गर्दै जोखिम बढाउनेहरु बढ्दैगर्दा सुरक्षा निकाय भने निकम्बा जस्तै बनेको छ ।

काठमाडौंबाट समेत आफू अनुकुलका स्थानीय तहको सिफारिस ल्याएर अन्यत्रका यात्रुहरु महंगो भाडा असुलेर ओसारपसार गर्ने कामले लकडाउनको सुरुवातदेखी नै निरन्तरता पाइरहेको छ । ट्राफिक प्रहरी र यातायात व्यवसायी राष्ट्रिय महासंघको सेटिङमा भैरहेको भाडाका गाडीको यात्रु ओसारपसारको यो निरन्तरता बारे समेत बोल्ने र चासो देखाउने निकाय छैन । बरु सिमित यातायात व्यवसायीले प्रहरीसम्मलाई आर्थिक प्रभावमा पारेर दैनिक १०, १२ वटा भाडाका गाडी रातीको समयमा देशका विभिन्न स्थानमा पठाउदै आएका छन् । यसरी एक ठाउँबाट अर्को ठाउँमा निर्वाध भैरहेको ओहोरदोहोरले बढाउने जोखिमतर्फ सरकार गम्भिर बन्न नसक्दासम्म कोरोना रोकथाम होइन विस्तार भैरहनेछ ।

यता ट्राफिक प्रहरीले भने चेक जाचमा कडाई गर्दै आएको दाबी गरेपनि परिणाम उल्टो देखिएको छ । अत्यावस्यक र पास भएका सवारीसाधनलाई आवत जावतमा रोक नलगाउँदा समस्या बढेको हो वा शक्ति र पँहुचको दुरुपयोग हो । यसमा ट्राफिक प्रहरी समेत गम्भिर बन्नुपर्ने देखिन्छ । काठमाडौं उपत्यकालाई सुसक्षित बनाउने उदेश्यले जथाभाबी सवारी प्रयोग गर्ने र हिनडुल गर्नेलाई कारबाहि गर्दै आएको दाबी ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले गर्दै आएका छन् । लकडाउन खुकुलो भएयता नागढुङगा र फर्पिङ नाकामा ४ सय ३३ वटा सवारी कारवाहिमा परेको दाबी गरिदैगर्दा संक्रमण बढेको जिल्ला र स्थानीय तहबाट काठमाडौं भित्रिनेहरु भने रोकिएका छैनन । लकडाउन खुकुलो हुने र यसरी मानिसको आतजावत तथा भिडभाड बाक्लिएसंगै काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम उच्च देखिएको छ । उपत्यकामा भित्रिनेहरुलाई नाका क्षेत्रमा कडाई नगर्दा, लकडाउन खुकुलो पारेको नाममा सबै पेशा व्यवसाय खुल्ला हुँदा नागरिकहरु त्रासमा छन् ।

दिनप्रतिदिन कोरोना संक्रमित बढेसँगै सरकारले परिक्षणको दायरा बढाउने दाबी गरेको पनि महिनौँ बितेको छ । असार १५ बाट १० हजारदेखी १५ हजार हाराहारीमा पीसीआर जाँच गर्ने सरकारी लक्ष्य स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नै सार्वजनिक गरेका छन् । तर एउटा मात्र पीसीआर मेसिन जडान भएका प्रयोगशालाको दैनिक क्षमता २ सयदेखि ३ सय नमुना टेष्ट गर्न सक्ने छ । मुस्किलले ३ सय नमुना परिक्षण हुने ल्याबमा एक हजार भन्दा बढी स्वाब संकलन हुँदा हरेक ल्याबमा हजारौँ स्वाब संकलन भएर पनि परिक्षण हुन सकेको छैन । अहिले स्वाबहरुको नतिजा आउन कतिपय स्थानमा एक सातादेखी एक महिनासम्म लाग्ने गरेको छ । सरकारले नीजि अस्पताललाई संकटको समयमा सदुपयोग गर्न सकिरहेको छैन । यसले पनि कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नबनेको हो कि भन्ने देखाएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्