Techie IT
Mission Khabar

कोरोना महामारीकाबीच सलहको प्रकोप, स्वास्थ्यसँगै खाद्य संकटको जोखिम


काठमाडौँ । यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित गर्दै शनिबार नै सलहको समूह नेपाल प्रवेश गर्यो । नेपालमा यस वर्ष सलह भित्रिन नसक्ने निचोडसहित सरकारी अध्ययन प्रतिवेदन बनेको २२ दिनपछि बारा, पर्सा, रौतहट र सर्लाही हुँदै नेपाल छिरेको सलह पाँच नम्बर प्रदेशको रुपन्देही, पाल्पा पुगेको छ भने बागमति प्रदेशको मकवानपुर, सिन्धुली, काभ्रेमा समेत भेटिएको छ ।

नेपाल भित्रिएका सलहका बथान अहिले काठमाडौं उपत्यका समेत प्रवेश गरेको छ । ललितपुरमा भेटिएको बथान थप क्षेत्रमा विस्तार भइरहेका छन् । सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । हावा जता बहन्छ, सलह किरा पनि त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने मौसमविद प्रतिभा मानन्धरले बताइन् । केही दिनयता दक्षिणतिरबाट हावा बगेको कारण भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान गरिएको छ ।

सलहको हुलले एक दिनमा १३० देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने भएकाले एकैदिनमा देशको तराईहुँदै पहाडी क्षेत्रसम्म फैलिएको छ । घाम नै छेलिने गरी उडेर आउने सलहको झुण्ड जहाँ बस्छ, त्यहाँको हरियाली केहीबेरमै उजाड बन्छ । सोही अनुसार सलह पहिचान भएको क्षेत्रमा तरकारी तथा बालि खान सुरु गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । नेपालमा सलहले पुर्याउने क्षती बारे अहिलेनै एकिन नभए पनि कृषी क्षेत्रमा ठूलो असर पार्नसक्ने आँकलन मन्त्रालय र कृषी विज्ञको छ ।

थप समूह प्रवेशको आँकलन अहिले सानो झुण्ड नेपाल प्रवेश गरेको र एक दुई दिनमै आउनसक्ने थप सलहको समूहले खाद्य सुरक्षामा गम्भीर चुनौति उत्पन्न गर्नेतर्फ विज्ञहरुले सचेत गराउँदै आएका छन् । भारतमा ठूलो संख्यामा विस्तार भएको सलहको अरु झुण्ड नेपाल भित्रिने जोखिम कायमै रहेकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

के हो सलह, कसरी गर्छन हरियो बालिनालीको बिनास ?

फट्याङ्ग्रा समूहको एउटा प्रजाति हो सलह किरा । विशेष गरी गर्मी मौसममा सलहले आफ्नो वंश बिस्तार गर्ने गर्दछ । विशेष गरि बलौटे माटो र तातो या गर्मी ठाउँमा वंश बिस्तार गर्ने सहलको जीवन चक्र मात्रै ९० दिनको हुन्छ । नयाँ स्थानमा सलहले आफ्नो वंश बिस्तार चाँडो गर्ने गर्छन् । एउटा सलहले एक दिनमा दुई ग्राम आहार लिनेगर्छ ।

समूह समूहमा आहारको खोजीमा निस्किने सलहको एउटा समूहमा ८–१० लाख हिड्ने गर्दछन् । विभिन्न कृषी अध्ययनका अनुसार यो समूहले एक दिनमा ३५ हजार मानिसलाई पुग्ने खाद्यान्न सखाप पार्छ । एउटा समूहले एक किलोमिटर भन्दा बढी क्षेत्र ढाक्ने र हरियाली सखाप पारेपछि अर्को गन्तब्य तय गर्ने गर्दछन् ।

कहाँबाट कसरी आइपुग्यो सलह नेपालमा ?

२०१९ सुरुवाती महिनामा यमनमा देखिएको सलह साउदी अरेबिया, इरान हुँदै पाकिस्तान प्रवेश गरेको थियो । पाकिस्तानमा सलहले ठूलो क्षति गरेपनि संकटकाल नै घोषणा गर्नुपरेको थियो । सन् २०२० को सुरुवातमा पाकिस्तान भारत सीमा क्षेत्रमा देखिएको सलह केही दिनमै भारत प्रवेश गर्यो । नेपाल प्रवेश गरेको सलहले यमनदेखि १७ महिने उडान भरेको देखिन्छ । भारतमा प्रवेश गरेर बालिनाली सखाप पार्न थालेको सलह बारे नेपालका विज्ञ तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो बर्ष प्रवेश नगर्ने भनेपनि अन्तत नेपाल भित्रिएको छ ।

नेपालमा सलहको इतिहास

सन् १९६० मा काठमाडौं उपत्यकामा देखिएको सलहले नेपालमा ठूलो खाद्य संकट निम्त्याएको थियो । सो समयमा काठमाडौं उपत्यका, धादिङ, नुवाकोट, काभ्रेलगायतका जिल्लामा सलहले सबैखाले बाली सखाप पारेको थियो । काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले बाली सखाप पार्दा किसानहरु निक्कै ठूलो मारमा परेका थिए ।

कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार अहिले नेपाल भित्रिएको सलह किरा मरुभूमि सलह रहेको पाइएको छ । नेपाल भित्रिएको सलहको झुण्ड ठूलो नरहेको र धेरै समय नरोकिई अघि बढेकाले ठूलो क्षति देखिएको छैन । तर हावाको गति विश्लेषण गरेका विज्ञहरुले केही दिनमा थप झुण्ड आउन सक्ने र क्षति हुन सक्नेतर्फ सचेत गराएका छन् । मुलतः अफ्रिकाको रैथाने फट्याङ्ग्रा प्रजातिको किरा सलह (मरुभूमिमा पाइने) आहराको खोजीमा हजारौँ किलोमिटर पार गरेर भारतसम्म आइपुगेको र हावाको गतिसँगै भिन्न भएको सानो झुण्ड नेपाल प्रवेश गरेको प्ररम्भिक अध्ययनले देखाएको छ ।

सलहले सामान्य अवस्थामा करोडौँको संख्यामा समूह बनाएर उड्ने र आफ्नो मार्गमा परेका सबै बालीहरु सखाप नै पार्ने गर्छन् । सलह पसेपछि किसानले बाली भित्र्याउन खेत पस्नै पाउँदैनन्, अर्थात केही पनि नछोडी पूरै खाने भएकाले सलहलाई किसानको सत्रु समेत भन्ने गरिएको छ । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गएको अप्रिलमा सार्वजनिक गरेको ग्लोबल रिपोर्ट अन फुड क्राइसिस सम्बन्धी प्रतिवदेनमा विश्वमा खाद्य संकट उत्पन्न हुन सक्ने तर्फ चेतावनी दिएकोमा एउटा मुख्य कारणमा सलह प्रकोपलाई पनि राखिएको थियो ।

सलह नियन्त्रणका उपायहरु

विज्ञहरुका अनुसार रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिन्छ । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुलरजालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हो । विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय मानिएको छ । मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने बताउँछ । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्