Techie IT
Mission Khabar

कोरोना कहर र सलह त्रासकाबीच असार १५ को रौँनक, दही च्यूरा खाएर धान दिवस मनाइँदै


काठमाडौं । असार १५ अर्थात धान दिवस । देशभर रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । यस वर्ष राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरिएपनि कोरोना महामारीका कारण भीडभाड र हर्सोल्लासका कार्यक्रम हुने छैनन । स्वस्फूर्त रुपमा खेती बालिको काम गरिरहेका किसानले कार्यस्थलमै सामान्य रमझम भने गरिरहेका छन् ।

कृषि विभागका अनुसार कोरोना महामारीका बाबजुद पनि कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि मनाउने गरिन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाएर असार १५ लाई पर्वका रुपमा मनाउँछन् । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहार बनेर खेतका गराको हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वासका दही च्यूरा खाने परम्परा सुरु भएको मानिन्छ ।

कृषि विभागका अनुसार यो वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिएको छ ।
वि.सं २०६१ मंसिर २९ को मन्त्रीस्तरीय निर्णयबाट २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यसपछि हरेक बर्षको असार १५ गतेले धान दिवस पर्वका रुपमा उत्सबको मान्यता पाएपनि कृषि उत्पादकत्व बढ्दा देशको धान चामलको परनिर्भरता बढिरहेको छ ।


क्याटेगोरी : कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्