Techie IT
Mission Khabar

नेकपामा भाडभैलो : प्रधानमन्त्री स्वेच्छाचारि भए वा शिर्ष नेताहरुको स्वार्थ मिलेन ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी र सरकार सञ्चालनमा स्वेच्छाचारी भएको भन्दै नेकपाका शिर्ष नेताहरुले गुठबन्दी गरेर दबाब सिर्जना गर्दै आएको लामै समय भयो । नेताहरुको दबाबबाट प्रधानमन्त्री ओली कत्तिपनि नफेरिएको थप स्वेच्छिक भएको भन्दै यतिबेला शिर्ष नेताहरुले बलियो गुटबन्दी गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुको भेलाले पार्टी र सरकार सञ्चालनमा अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिता अन्त्य गर्ने निष्कर्ष निकालेको छ । उनीहरुले त स्थायी समिति बैठकमै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन आग्रह गरेका छन् । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्समा पुगेसँगै प्रधानमन्त्री ओलीले आफू निकट मन्त्री नेतासँगको बैठक गरेर आफू बिरुद्धको मोर्चाबन्दीको कसरी प्रतिवाद गर्ने भन्ने रणनीति बनाइरहेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली आफू निकटका नेताहरुको गुटगत भेलामा ब्यस्त देखिदा अध्यक्ष दाहाल, बरिष्ठ नेता नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल लगायतका नेताहरुले छुट्टै मोर्चाबन्दी गरेर बलियो गुट खडा गरेका छन् ।

नेपाल–दाहाल पक्षीय नेताहरु अब ओलीको नेतृत्वमा सरकार र पार्टी सञ्चालन हुन नसक्ने निष्कर्ष सहित राजीनामालाई बटम लाइन बनाइरहेका छन् । पार्टी र सरकार सञ्चालनमा ओलीको स्वइच्छाचारिताको अन्त्य हुनुपर्ने, पार्टी विधि प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्नेमा ४५ स्थायी समिति सदस्य मध्ये ३० जना देखिएका छन् । प्रधानमन्त्री ओली विरुद्ध एकजुट भएका नेताहरु पर्टी फुटाउन नदिनेगरी बाँकी कदम चाल्ने योजनामा छन् । पार्टीको आन्तरिक कलह मिलाउने मध्यमार्गी भूमिकामा रहेका कतिपय नेताहरु भने प्रधानमन्त्री ओलीको बिकल्प बिगतमै टेस्ट भएर सफलता हात पार्न नसकेका नेताहरु हुन नसक्ने बताइरहेका छन् । उनीहरु शिर्ष, बुढापाका नेताहरुले सत्ता र पदको त्याग गरेर दोश्रो पुस्ताका नेताहरुलाई अघि बढाउन सकेमात्र सहि विकल्पको खोजी हुने कतिपयको मत छ ।

राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी नेकपा भित्रको झगडा स्वार्थ नमिल्दाको प्रतिसोध भएको बताउँछन् । नियुक्ति, सरुवा, बढुवा, मन्त्री सल्लाहकार लगायतको भागबण्डा मिल्नासाथ साम्य हुने र स्वार्थ नमिल्दा झगडा हुने नेपाली राजनीतिज्ञबाट देश र जनताको हित नहुने विश्लेषक केसी बताउँछन् । यता प्रधानमन्त्री ओलीले समेत आफू निकटका मन्त्री तथा नेताहरुको भेला गराएर अन्तिम समयसम्म लड्ने निष्कर्षमा पुगेका छन् । प्रवृत्ति र सोच पुरानै भएको नेताहरु नै राजनीतिको अग्रमोर्चामा भएका कारण केपी ओलीको ठाउँमा अरु पात्र फेरिएपनि देश र जनताको अवस्था नफेरिने कतिपय विश्लेषकले दाबी गर्दै आएका छन् । नेकपाको रडाकोले थप द्धन्द्ध निम्त्याउँछ वा साम्य हुन्छ, अहिले नै यसै भन्ने अवस्था छैन ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्