Techie IT
Mission Khabar

आफ्नै प्रतिबद्धता पुरा गर्दैन सरकार, सुस्त जाँचमा दैनिक १० हजार परिक्षणको गफ

१५ हजार २ सय ५९ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले असार १५ बाट पीसीआर परिक्षणको दायरा बढाएर दैनिक १० हजार बढी स्वाब परिक्षण गर्ने दाबी गरे । परिक्षणको दायरा बढाएर कोरोना संक्रमणको अवस्था एकिन गर्नुपर्ने भन्दै सदनदेखी सडकसम्म आवाज उठ्यो । चौतर्फी दबाबपछि परिक्षणको दायरा बढाउने घोषणा गरेको सरकारले व्यवहारमा भने आफ्नै प्रतिबद्धता लागू गरेको पाइएको छैन ।

किनकी सरकारले परिक्षण १० हजार माथी पुर्याउने भनेर घोषणा गरेपछिको पाँच दिनमा जम्माजम्मी २७ हजार ४ सय ८ पीसीआर परिक्षण भएको छ । यो संख्या सरकारले दैनिक १० हजार परिक्षण गर्ने भनेर दाबी गरेको भन्दा आधा कम छ ।

यस्तो छ पछिल्लो ५ दिनको पीसीआर परिक्षण
असार १९ गते शुक्रबार–४ हजार ४ सय ८३ को आरटी पीसीआर परिक्षण
असार १८ गते बिहिबार–४ हजार ५ सय ३७ आरटी पीसीआर परिक्षण
असार १७ गते बुधबार–४ हजार ८ सय ८६ पीसीआर जाँच
असार १६ गते मंगलबार–४ हजार ७ सय ११ पीसीआर जाँच
असार १५ गते सोमबार–७ हजार ७ सय ९१ पीसीआर परिक्षण

देशका विभिन्न क्वारेन्टिनमा बस्नेहरु एक साताभन्दा लामो समयसम्म परिक्षणको रिपोर्ट कुर्नुपर्ने अवस्थामा छन् । मन्त्री, नेता, कर्मचारी अनि उनिहरुका चिनेजानेकाहरुको २४ घण्टामै पीसीआर जाँचको रिपोर्ट आउँछ । यो विभेदले पनि सरकार बिरोधी जनमत बढाइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले समेत गत बुधबार परिक्षणको दायरा बढाएर १० हजारको जाँच गर्न सकिनेगरि व्यवस्था गरिएको दाबी गरे तर परिक्षणको दायरा बढ्नुको साटो झन झन घटेको पाइएको छ । २२ वटा प्रयोगशाला बढाएर ३३ पुर्याउने घोषणा पनि अहिले गफमा मात्रै सिमित देखिएको छ । अहिले देशका २३ वटा प्रयोगशालाबाट पीसीआर परिक्षण भइरहेको छ ।

संक्रमण र मृत्युको अवस्था
शुक्रबार साँझसम्म १५ हजार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६ हजार १ सय ४३ जनाले कोरोना जितेका छन् । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । नेपालमा देखिएको कोरोना मृत्युदर भने विश्वका विकसित देशको तुलनामा कम हो ।

परिक्षण र उपचार
अहिलेसम्म गरिएको पीसीआर जाँचको संख्या २ लाख ४२ हजार २ सय ४७ पुगेको छ । क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेकोमा ९ हजार ८४ जना संक्रमित देशका विभिन्न कोरोना अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

कोरोना संक्रमण देशका सबै जिल्लामा विस्तार भएको छ । तर अहिलेसम्म संक्रमणको अवस्था एकिन गर्न सकिएको छैन । नीजि अस्पताललाई सशुल्क आरडीटी तथा पीसीआर परिक्षणको सुविधा दिने भनिएपनि स्वार्थ नमिल्दा निर्णय प्रक्रियाले पुर्णता पाएको छैन । अब यस्तै गतिले दैनिक १० हजार पीसीआर परिक्षण गर्ने सरकारी घोषणा कहिलेबाट पुरा हुन्छ ? आम नागरिकले प्रश्न गरिरहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्