Techie IT
Mission Khabar

देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


काठमाडौं । कोरोना रोकथामका लागि भन्दै गरिएको बन्दाबन्दीका कारण रोकिएको बैशाख ६ र ७ गतेको भिटामिन ए कार्यक्रम आजबाट सुरु भएको छ । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोली दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन भन्दै सबै अभिभावकहरुलाई सार्वजनिक रुपमा आह्वान गरेको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएपनि यो बर्षको दोश्रो चरणको कार्यक्रम कोरोना महामारीका कारण असार २२ र २३ गते तय गरिएको हो । स्वास्थ्य सेवा विभागका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखी भिटामिन ए कार्यक्रम सन्चालन गर्दै आएको छ ।

यो कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाइन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउन मिल्छ । बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमका लागि भन्दै देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्