Techie IT
Mission Khabar

कोरोनाको जोखिम बढेसँगै समुदायस्तरमा परिक्षण, गफ बढी काम कम


काठमाडौं । उपत्यकामा कोरोना भाइरस (कोभिड १९) को स्थानीय संक्रमणलाई पुष्टि गर्ने थुप्रै केसहरू भेटिएपछि समुदायस्तरको परिक्षणलाई तिब्रता दिने भनियो । ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिने तथा केही दिर्घ रोगीको मृत्यु समेत भएको समयमा संक्रण श्रोत पहिचानमै समस्या व्यहोर्नु परिरहेको छ । सम्भावित जोखिम क्षेत्रको समुदायस्तरमा पीसीआर परिक्षण थालिएपनि यो परिक्षण पनि निक्कै सुस्त छ ।

निक्कै कम परिक्षणमा समेत यति धेरै संक्रमित पहिचान हुँदा समेत सरकार समुदायस्तरको परिक्षणमा गम्भिर देखिएको छैन । अझ, पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भाइरस भेटिएपछि समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप सतर्कता अपनाउन आग्रह गर्दै असार १७ गतेनै संक्रमण भेटिएको समुदायमा गएर कन्ट्याक ट्रेसिङबाट फेला परेका र जोखिम समूहमा रहेकाहरुको परिक्षण गर्ने घोषणा गरेको थियो । अहिले उपत्यकाको १० ठाउँका सर्वसाधारणको थ्रोट स्वाब संकलन गरेर परिक्षण भइरहेको भनिदैगर्दा घोषणाको ६ दिनमा बल्ल तीनकुने र नख्खु क्षेत्रमा संकलन गरिएको २२८ वटा नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी शंखमुल, कपन, मैतीदेवी, कोटेश्वर, खुशीबुँ, कागेश्वरी, बोडे, टोखा क्षेत्रबाट संकलित स्वाबको रिपोर्ट आउन बाँकी छ ।

पछिल्लो समय दैनिकजसो कोरोना संक्रमित पहिचान भएको उपत्यकामा सोमबार मात्रै ५७ जना नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा बढेको जोखिम र चाल्नुपर्ने कदम बारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयका विज्ञहरूका साथै इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर वासुदेव पाण्डे, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा र कोभिड अस्पतालका प्रतिनिधि सहितको बैठक नै राखेर राय लिएका छन् । तर काठमाडौं उपत्यकामा बढ्दै गरेको भीडभाड र जोखिमबारे सरकार बेखबर जस्तै देखिएको छ ।

जनस्वास्थ्यविद लगायतका स्वतन्त्र स्वास्थ्य विज्ञहरुले सम्भावित जोखिम क्षेत्रमा वा आशंकित क्षेत्रमा समुदायस्तरमा पीसीआर परिक्षण गरेर कोरोना संक्रमणको अवस्था एकिन गर्न बारम्बार सचेत गराएपनि सरकार गम्भिर देखिएन । बरु दैनिक १० हजार बढी स्वाब संकलन र पीसीआर परिक्षणको घोषणा गरेको सरकार परिक्षण थप सुस्त बनाउँदै केही हजारमा सिमित भइरहेको छ । यसले कोरोनाको अवस्था पहिचान गरेर नागरिकको ज्यू धनको रक्षामा सरकार गम्भिर छैन भन्ने देखाएको छ । जोखिम बढ्दै गरेको काठमाडौं उपत्यकामा समुदायस्तरमा पीसीआर जाँच गर्ने घोषणा परिक्षणको दायरा बढाउछौँ भन्ने मन्त्रीको प्रतिबद्धता जस्तै गफमा मात्रै सिमित नहोस्, उपत्यकाबासीले यहि कामना गरिरहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्