Techie IT
Mission Khabar

बह्रबिसेमा बाढीपहिरो : बस्ती बगाउँदा १८ जना बेपत्ता, दुई जनाको मृत्यु

खोजी कार्य तिब्र


काठमाडौं/सिन्धुपाल्चोक । बाह्रबिसे–५ गाती जम्बुस्थित एल्मो ठाडो खोला स्थानीय बस्तीमा पस्दा २ जनाको मृत्यु भएको छ भने कम्तिमा १६ जना बेपत्ता भएका छन् । मध्य राती १२ बजे आएको बाढीले बस्तीका १४ घर बगाउँदा बेपत्ता भएकाहरु मध्ये २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शब भेटिएको छ । अन्य १८ जना बेपत्ता भएको आशंका सहित खोजी कार्यलाई तिब्रता दिइएको छ ।

सेना, प्रहरी र स्थानीय मिलेर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए । तीन जना घाइतेको उद्धार गरेर अस्पताल पठाइदैछ । अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त भएको छ भने उद्धारमा समेत समस्या ब्यहोर्नुपरेको छ ।

बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय थप त्रसित बनेका छन् । जम्बुसम्म पुग्ने राजमार्गक्षेत्रको सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै उद्धार टोली घटनास्थल पुगेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध भएको छ । वडा नं. ५ र ८ को बीचमा पनि केही घरहरु बाढीले बगाएको पाइएको छ । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बर्कुटे भन्ने स्थानमा एक घर परिवार वेपत्ता भएका छन् । १० दिनको एक शिशु र अर्का एक बच्चाको उद्धार गरिएको छ ।

बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ देखिएको छ । सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै छ । भोटेकोशी थुनिएको र बाँध फुटेर आकस्मिक बहाव बढेको अनुमान गरिएपनि एकिन भएको छैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्