Techie IT
Mission Khabar

एडीबीको ६ अर्ब ऋण सहायता, हवाई क्षेत्र सुधारमा खर्च गरिने


काठमाडौं । हवाई क्षेत्र सुधार कार्यक्रमका लागि भन्दै नेपाललाई एसियाली विकास बैंक(एडीबी) ले ६ अर्ब ऋण सहायता उपलब्ध गराएको छ । बिहीबार नेपाल सरकार र बैंकबीच ६ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउनेबारे सम्झौता भएको हो । सम्झौता पत्रमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका कन्ट्री म्यानेजर मुख्तर खामुदखानोवले हस्ताक्षर गरेका छन् ।

नियामक र सेवा प्रदायक संस्थाका रुपमा छुट्याउने तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको नीतिगत सुधारको क्षेत्रमा यो रकम खर्च हुनेछ । प्राधिकरणको विभाजन सम्बन्धि नीति संसदमा विचाराधीन अवस्थामा रहेपनि यसबाट नेपालमा हवाई सुरक्षा अभिवृद्धि र क्षमता विकास हुने अपेक्षा गरिएको छ । नेपाल सन् २०१३ यता यूरोपेली यूनियनको कालोसुचीमा रहेको छ । नेपालको नागरिक उड्डयन क्षेत्रमा सबैभन्दा ठूलो सहायता एसियाली विकास बैंकबाट आउने गरेको छ ।

त्रिभुवन विमानस्थलको क्षमता बिस्तार, भैरहवा अन्तराष्ट्रिय विमानस्थलको निर्माणसमेत एसियाली विकास बैंककै ऋण सहायतामा हुँदै आएको छ । एसियाली विकास बैंकका कन्ट्री म्यानेजर मुख्तर खामुदखानोवले विमानस्थलहरुको कमजोर सेवा सुधार, नीतिगत सुधारका माध्यमबाट नेपालको अर्थतन्त्रमा सहयोग गर्ने उद्देश्यले पछिल्लो ऋण सहयोग गरेको बताए । ऋण कार्यान्वयनको प्रारम्भ हस्ताक्षर भएको एक महिनापछि शुरु हुनेछ । ऋण कार्यान्वयनको अवधि २०२३ जुन ३० सम्म कायम गरिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्