Techie IT
Mission Khabar

बढ्दै देशभर बाढीपहिरोको बितण्डा, ११ जनाको मृत्यु २७ बेपत्ता

२७ जना घाइते


सुरज बस्नेत, बागमती/गण्डकी । देशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । यस्तै बाढिपहिरोमा परेर २७ जनाभन्दा बढी घाइते भएका छन् ।

सिन्धुपाल्चोक बाढीपहिरो

सिन्धुपाल्चोक बाह्रबिसेस्थित स्थानीय जबमु खोलामा आएको बाढीले २० भन्दा बढी घर बगाउँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २० जना बेपत्ता छन् । बाह्रबिसे नगरपालिका–५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको छ । बुधबार मध्यरातमा आएको बाढीमा परेर गम्भिर घाइते भएका पाँच जनाको उद्धार गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

बाह्रबिसे ५ जम्बु बजारमा १६ जना र भोटेकोशी गाउँपालिकामा ४ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार जम्बुका भीमबहादुर वाइवा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका हुन । मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएका छन् । बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् ।

भोटेकोशी गाउँपालिका–५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातिनीहरू ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन् । नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी घाइते भएकी छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्याएको छ । बेपत्ताहरुको खोजी कार्य जारी छ । खागदलमा ११ वटा घर, एउटा ग्यारेज, एउटा गाडी, एउटा ट्यांकर, सडक विभागको अलकत्रा बोक्ने एउटा ट्रक र बस बगाएको छ । सिन्धुपाल्चोककै बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ ।

भोटेकोशीमा आएको बाढीले कटानी गर्दा ठाउँठाउँमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । सभामुख अग्निप्रसाद सापकोटा, पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता मोहन बस्नेत, प्रदेश मन्त्री लगायतका नेताहरु घटनाबारे जानकारी लिन र उद्धारमा सहयोग गर्न वाढी प्रभावित क्षेत्रमा पुगेका थिए ।

पोखरामा बाढी पहिरो

अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति पौने तीन बजेतिर पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । ६ जनाको उद्धार गरेर मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी ७० वर्षीया आमा भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएपछि नमस्ते अस्पतालमा उपचार हुँदैछ । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ ।

लमजुङ पहिरो

लम्जुङको बेसिशहर नगरपालिका ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । राती ११ बजे ढुंगासहित खसेको पहिरोमा पुरिएर दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले जोगिएका छन् । गएराति नै लम्जुङको क्होलासोथार गाउँपालिका ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका छन् ।

म्याग्दी पहिरो

वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान मात्रै सात जना बेपत्ता भएका छन् । घण्टीवाङमा खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका हुन् । चार जनाको परिवार रहेको भीमप्रसाद जुग्जाली र तीन जना घरमा रहेको धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । माथिल्लो भेगमा रहेका घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । पहिरोमुनीका चार घर विस्थापित भएका छन् । मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको छ ।

रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क टुटेको छ ।

रुकुमपश्चिम पहिरो

रुकुमपश्चिमको आठविकोट नगरपालिका ३ स्यालाखदीमा गएको पहिरोमा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईको घर पहिरोले पुर्दा २८ बर्षकि सीता दमाई र निजको छोरा बर्ष ६ को हाविल परियार को ज्यान गएको हो । घटनामा परि ८ बर्षिया हिरा परियार घाइते भएकी छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्