Techie IT
Mission Khabar

बाढीपहिरो अपडेट : १४ जनाको मृत्यु, ६४ बेपत्ता हुँदा २७ बढी घाइते


काठमाडौं । देशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता भएका छन् । यस्तै बाढिपहिरोमा परेर २७ जनाभन्दा बढी घाइते भएका छन् ।

सिन्धुपाल्चोक बाढीपहिरो
सिन्धुपाल्चोक बाह्रबिसेस्थित स्थानीय जबमु खोलामा आएको बाढीले २० भन्दा बढी घर बगाउँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २० जना बेपत्ता छन् । बाह्रबिसे नगरपालिका–५ का २० वर्षका निकेश बस्नेत र उनकी डेढ वर्षकी छोरी निउना बस्नेतको शव भेटिएको छ । बुधबार मध्यरातमा आएको बाढीमा परेर गम्भिर घाइते भएका पाँच जनाको उद्धार गरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार जम्बुका भीमबहादुर वाइवा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका हुन । मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएका छन् । बाह्रबिसे–५ जम्बुमा ५ जना घाइते भएका छन् ।

भोटेकोशी गाउँपालिका–५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातिनीहरू ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन् । नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी घाइते भएकी छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्याएको छ । बेपत्ताहरुको खोजी कार्य जारी छ । खागदलमा ११ वटा बगेका छन् । बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ । बेपत्ताको खोजी जारी राखिएपनि फेला पार्न सकिएको छैन ।

म्याग्दी पहिरो
म्याग्दी प्रहरीका अनुसार जिल्लाका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराएका हुन् । म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरका अनुसार धौलागिरीको मराङमाको पहिरोमा मात्र २२ जना हराएका छन् । धौलागिरिकै ताकममा २ जनाको ज्यान गएको छ भने मालिका गाउँपालिकामा ८ जना हराइरहेका छन् । मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराएको प्रहरीले जानकारी दिएको छ ।

कास्की पहिरो
कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पुरिदा थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको छ । पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । यस्तै, पोखरा २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको निधन भएको छ ।

जाजरकोट पहिरो
जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा गएराति आएको पहिरोमा परि १२ जना बेपत्ता भएका छन् । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा पाहुना बस्न आएका ४ सहित १२ बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा ५२ वर्षीय घरमुली गोपाल सार्की, उनकी पत्नि ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की, अर्का घरमुली कलु सार्की, १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् ।

यस्तै पाहुना आएका कुशे गाउँपालिका ९ चौराँटाका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय बीरेन्द्र सार्की बेपत्ता छन् । पहिरोमा परेका मध्ये १ जनाको शव देखिए पनि निकाल्न नसकिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठ जानकारी दिए ।

लमजुङ पहिरो
लमजुङको बेसिशहर नगरपालिका ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । राती ११ बजे ढुंगासहित खसेको पहिरोमा पुरिएर दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले जोगिएका छन् । गएराति नै लम्जुङको क्होलासोथार गाउँपालिका ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका छन् ।

रुकुमपश्चिम पहिरो
रुकुमपश्चिमको आठविकोट नगरपालिका ३ स्यालाखदीमा गएको पहिरोमा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईको घर पहिरोले पुर्दा २८ बर्षकि सीता दमाई र निजको छोरा बर्ष ६ को हाविल परियार को ज्यान गएको हो । घटनामा परि ८ बर्षिया हिरा परियार घाइते भएकी छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्