देशभर बाढीपहिरोको प्रकोप: ६ जिल्लामा २३ जनाको मृत्यु, ५७ बेपत्ता

काठमाडौं । बिहिबारदेखि मुलुकका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भएसँगै पहिरो र बाढीबाट ठूलो जनधनको क्षति भएको छ । यो समाचार तयार पार्दासम्म देशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ५७ जना बेपत्ता छन् । यस्तै बाढिपहिरोमा परेर २१ जना घाइते भएका छन् । बाढी, पहिरोबाट म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, सिन्धुपाल्चोक र गुल्मी गरी ८ जिल्ला प्रभावित भएका छन् । यीमध्ये ६ जिल्लामा मानवीय क्षति भएको छ ।
म्याग्दी पहिरो
म्याग्दी जिल्लाका विभिन्न ठाउँमा पहिरोमा परेर ३३ जना बेपत्ता भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराएका हुन् । म्याग्दी प्रहरीका अनुसार धौलागिरीको मराङमाको पहिरोमा मात्र २२ जना हराएका छन् ।
धौलागिरिकै ताकममा १ जनाको ज्यान गएको छ ३ जना बेपत्ता छन् । मालिका गाउँपालिकामा ८ विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले सडक तथा पैदलमार्ग बगाउँदा उद्धारमा कठिनाई भोग्नुपरेको छ ।
जाजरकोट पहिरो
बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गत राति गएको पहिरोमा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । बेपत्ता भएका ५२ वर्षीय घरमुली गोपाल सार्की, उनकी पत्नि ५० वर्षीया पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की, अर्का घरमुली कलु सार्की, १४ वर्षीय छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षीय छोरा सुभास सार्की र पाहुना आएका कुशे गाउँपालिका ९ चौराँटाका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय बीरेन्द्र सार्की मध्ये ७ जनाको शब भेटिएको छ । अन्य बेपत्ताको खोजी कार्या जारी राखिएको छ ।
कास्की पहिरो
कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पुरिदा थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको छ । पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । यस्तै, पोखरा २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको निधन भएको छ ।
सिन्धुपाल्चोक बाढीपहिरो
सिन्धुपाल्चोक बाह्रबिसेस्थित स्थानीय जबमु खोलामा आएको बाढीले २० भन्दा बढी घर बगाउँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २० जना बेपत्ता छन् । प्रहरीका अनुसार जम्बुका भीमबहादुर वाइवा, चिनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमा डोल्मा वाइवा, लक्ष्मण वाइवा, सनमाला वाइवा, जनकबहादुर थिङ, सविना तामाङ, आकाश तामाङ, तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ बेपत्ता भएका हुन । मध्यभोटेकोशी हाइड्रोपावर कम्पनीका सेक्रेटरी हिमेश शर्मा, जाइकाका इन्जिनियर आकाश केसी पनि बेपत्ता भएका छन् । ५ जना घाइतेको उद्धारसँगै उपचार भैरहेको छ ।
भोटेकोशी गाउँपालिका–५ मा बुलुकुटे झ्यालेस्थित बुलुकुटे ठाडो खोलामा बाढी आउँदा ६० वर्षका निमा दोर्जे तामाङ, उनकी बुहारी २७ वर्षकी मञ्जु तामाङ, नातिनीहरू ९ वर्षकी पासाङ नुर्बु तामाङ र ६ वर्षकी साहिल तामाङ बेपत्ता भएका छन् । नुर्बुको घर बगाउँदा उनका छोरा फुर्वा र उनकी १० दिनकी छोरी घाइते भएका छन् । यहाँ बाढीले १५ वटा घरमा क्षति पुर्याएको छ । खागदलमा ११ वटा बगेका छन् । बलेफी गाउँपालिका–७ मा पाँच वटा घर बगाएको छ । बेपत्ताको खोजी जारी राखिएपनि फेला पार्न सकिएको छैन ।
लमजुङ पहिरो
लमजुङको बेसिशहर नगरपालिका ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् । राती ११ बजे ढुंगासहित खसेको पहिरोमा पुरिएर दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले जोगिएका छन् । गएराति नै लम्जुङको क्होलासोथार गाउँपालिका ३ का तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका छन् ।
रुकुमपश्चिम पहिरो
रुकुमपश्चिमको आठविकोट नगरपालिका ३ स्यालाखदीमा गएको पहिरोमा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईको घर पहिरोले पुर्दा २८ बर्षकि सीता दमाई र निजको छोरा बर्ष ६ को हाविल परियार को ज्यान गएको हो । घटनामा परि ८ बर्षिया हिरा परियार घाइते भएकी छन् ।
तनहुँ डुबान
बिहीबार रातिदेखि परेको वर्षासँगै सेती नदीमा आएको बाढीले जिल्लाको शुक्लागण्डकी नगरपालिकाका ४२ घर विस्थापित भएका छन् । वडा ४ का १४ र वडा ८ का २८ घर जोखिममा परेपछि उनीहरुलाई सुरक्षितस्थलमा सारिएको छ । बाढीले मानवीय क्षति नभए पनि कुखुरा, पशुचौपाया बगाएको छ ।
तराई मधेशमा डुबान
लगातारको बर्षाले देशको तराई मधेशमा डुबान समस्या सुरु भएको छ । बुधबारदेखीको पानीले प्रदेश २ का ८ वटै जिल्ला डुबान समस्या बल्झिएको छ । साना ढुला सबै खोलामा पानीको बहाव तीव्र रुपमा बढ्दा तटीय क्षेत्रका बासिन्दामा त्रासदी बढ्न थालेको छ । प्रदेशको अस्थायी राजधानी जनकपुर, महानगर वीरगन्ज, राजविराज, लहान, जलेश्वर, मलंगवा, गौर, कलैया लगायतका ठूला सहर एकै रातको वर्षाले डुबानमा पर्दा तराई मधेशका अधिकांश क्षेत्रमा डुबानको जोखिम बढ्न थालेको छ ।
नदिमा बहाब बढ्दै
सप्तकोसी नदीमा समेत पानीको बहाब बर्षकै सबैभन्दा बढी पुग्दा हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भूभाग तथा पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडीका केही गाउँमा जोखिम बढेको छ । कोसीको बहाबले समेत जोखिम बढाउने देखिएको छ । अर्कोतर्फ नारायणी लगायतका नदीमा समेत पानीको बहाब बढ्दा नदी आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको छ ।
विद्युत उत्पादनमा अवरोध
भारी वर्षासँगै खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन समेत बन्द भएको छ । बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत्गृह शुक्रबार बिहानदेखी बन्द भएको छ । प्राधिकरणको ७० मेगावाटको मध्यमर्स्याङ्दी, १६ मेगावाटको त्रिशुली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द हुँदा बाढीकै कारण निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोशीलगायतका विद्युत्गृहको करिब २४० मेगावाट विद्युत् उत्पादन रोकिएको छ । भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाहरूको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरू ढल्दा लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या भएको भएको छ ।
मनसुनी बर्षासँगै बढ्न थालेको प्राकृतिक विपद्धका यी केही प्रतिनिधि उदाहरण मात्रै हुन । अझै केही दिनसम्म जारी रहने पूर्वानुमान गरिएको बर्षादले बढाउनसक्ने जोखिम तर्फ राज्यसँगै हरेक नागरिक सचेत बन्नुपर्छ । बाढि र पहिरोको सम्वावित जोखिममा रहेकाहरु सुरक्षित स्थानमा बसौँ । सरकारले पनि विपद्धबाट आम नागरिकलाई बचाउन, कोरोना महामारीको अलर्ट जस्तै पलपलको सूचना प्रवाह गरोस् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #कास्की, #गुल्मी, #जाजरकोट, #तनहुँ, #बाढीपहिरो, #म्याग्दी, #रुकुम पश्चिम, #लमजुङ, #सिन्धुपाल्चोक
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्